उपभाेक्ता ठग्ने टिभिएस धरान साेरुमकाे काइदा, मिस्त्रीलाई कमिसन दिन एमआरपीभन्दा बढी मूल्य

उपभाेक्ता ठग्ने टिभिएस धरान साेरुमकाे काइदा, मिस्त्रीलाई कमिसन दिन एमआरपीभन्दा बढी मूल्य


काठमाडाैँ ।

टिभिएस माेटर्सकाे नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा माेटर्स हाे । यसले देशैभर शाखा विस्तार गरेकाे छ । हरेक शाखा फरक फरक कम्पनीले जिम्मा लिएका हुन्छन् ।

टिभिएसका २ पांग्रे सवारीसाधनका हरेक पार्टपुर्जाकाे अधिकतम खुद्रा मूल्य (एमआरपी) देशैभर एउटै हुन्छ । जगदम्बा माेटर्सले पनि यसै भन्छ । तर, धरानस्थित टिभिएस साेरुमले भने माेटरसाइकल बनाउने मिस्त्रीलाई कमिसन दिनुपर्ने भन्दै ग्राहकसँग बढी रकम ठगी गरेकाे पाइएकाे छ ।

टिभिएसकाे धरान साेरुम सिजन एन्ड ब्रदर ट्रेडर्सले लिएकाे छ । उसले एमआरपीमै १० प्रतिशत रकम थपेर उपभाेक्ता लुटेकाे पाइएकाे हाे । प्राप्त भ्याट बिल अनुसार पार्टकाे मूल्य १६ हजार ८५८ रुपैयाँ देखिन्छ । साेमा १३ प्रतिशत भ्याट थपेर १९ हजार ५० रुपैयाँ लिएकाे छ ।

तर, जगदम्बाका एक प्रतिनिधि भन्छन्, ‘टिभिएसका पार्ट्सको मूल्य नेपालभर एउटै हाे । धरान शाखाले दिएकाे बिल सही छैन । ’

जगदम्बाले ताेकेकाे मूल्यसूचीअनुसार टिभिएस एन्टर्क स्कुटरमा प्रयाेग हुने ‘किट स्टेयरिङ’लाई १ हजार ६५ पर्छ । तर धरान साेरुमले १ हजार ३०० रुपैयाँ लिएको छ । उपभाेक्ताले लिएका १६ आइटममध्ये २ वटाकाे मूल्य सही छ भने १४ आइटममा बढी मूल्य लिइएकाे छ ।

पीडितले आफ्नाे स्कुटर धरान–८ भोटेपुलस्थित मोहन कान्छा सर्भिस सेन्टरमा मर्मत गराउन दिएका थिए । सर्भिस सेन्टरकै सिफारिसमा उनले टिभिएसको आधिकारिक साेरुम सिजन एन्ड ब्रदर ट्रेडर्सबाट पार्ट्स किनेका हुन् ।

यस विषयमा जिज्ञासा राख्दा  टिभिएस धरानले भने ग्यारेजका मेकानिकलाई कमिसन दिनुपर्ने भएकाले अतिरिक्त रकम लिएकाे बताएकाे छ ।साेरुमका अनुसार ग्यारेजका मेकानिकले जम्मा रकमकाे १० प्रतिशत रकम लिएका हुन् ।

तर, मेकानिकले पाउने कमिसन एमआरपीभित्रैबाट दिनुपर्ने जगदम्बा माेटर्सका प्रतिनिधि बताउँछन् । मोहन कान्छा ग्यारेजका मेकानिकले पनि आफूलाई साेरुमले सामानको एमआरपीको नै १० प्रतिशत कमिसन दिने गरेको बताए ।

यस विषयमा कुरा गर्दा जगदम्बा मोटर्सले टिभिएस मोटर पार्ट्सको एमआरपी नेपालभर एउटै हुने र एमआरपीभन्दा १ रुपैयाँ पनि बढी लिन नपाउने बतायाे ।

यता, धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले साेरुमले यसरी बढी शुल्क लिन नपाउने बताए । बढी शुल्क लिएको उजुरी आए कारबाही गर्ने उनले बताए ।

‘हामी अहिले धरान बजार अनुगमन गरिरहेका छौँ । तर, अहिलेसम्म हामीकहाँ साेरुमले अतिरिक्त शुल्क लिएकोबारे उजुरी आएको छैन,’ उनले भने, ‘यदि पीडितलेले उजुरी दिए छानबिन गर्छौं र दोषी पाइए कारबाही गर्छौं ।’

हेराैँ बढी मूल्य लिइएकाे बिल (राताे) सेताेमा सुरुमा बिल भनेर दिइएकाे चिर्कटाे