चौरजहारीबाट सवारी चालक अनुमतिपत्र वितरण सुरु

चौरजहारीबाट सवारी चालक अनुमतिपत्र वितरण सुरु


रुकुम पश्चिम ।

चौरजहारीबाट सवारी चालक अनुमतिपत्र जारी प्रक्रियाको शुभारम्भ भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चौरजहारी यातायात व्यवस्था सेवा कार्यालयबाट लाइसेन्स जारी प्रक्रियाको शुभारम्भ गरेका हुन् । योसँगै बायोमेट्रिङ सुरु भएको छ ।

पहिलो सेवाग्राहीका रुपमा आठबीसकोट नगरपालिकाका सुदिप ओलीको वायोमेट्रिक भएसंगै चौरजहारीबाटै लाइसेन्स वितरणको प्रक्रिया शुभारम्भ भएको हो ।

लाइसेन्सका लागि साउन २ गतेदेखि अनलाइन फारम खुला भएको थियो । अनलाइन फारम भरेकाहरुको आइतबारबाट बायोमेट्रिक सुरु भएको हो । अब हप्तामा चार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार बायोमेट्रिक हुने यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले जानकारी दिए ।

वायोमेट्रिकपछि लिखित परीक्षा सञ्चालन हुने र त्यसपछि ट्रायल हुने उनको भनाइ छ । अहिलेलाई ट्रायल सेन्टर भाडामा लिइएको छ । अब चौरजहारीबाटै मोटरसाइकल, कार, जिप, भ्यान, स्कुटर र अटो रिक्साको लाइसेन्स पाइनेछ ।

कार्यालयले उद्घाटन भएको साढे ३ वर्षपछि गत फागुन २१ गतेबाट सेवा सुरु गरेको थियो । २०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो ।

कर्मचारी अभाव लगायतका कारण देखाउदै उद्घाटन भएको साढे ३ वर्षसम्म कार्यालय अलपत्र परेको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गत फागुन २१ गते सेवाको उद्घाटन गरेसंगै कार्यालयले हालसम्म सवारी दर्ता, नामसारी, कर असुल, ब्लुबुक नविकरण, लाइसेन्स नविकरण, रुट परमिट जारी, सवारी जाँचपास लगायतका सेवा दिइरहेको थियो ।

अब भने सवारी चालक अनुमति पत्र जारी थपिएको छ । यता कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले यातायात सेवालाई नागरिकको सहज पहुँचमा पुर्‍याउन प्रदेश सरकार लागिपरेको बताए । आइतबार बिहान रुकुम पश्चिमको चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी प्रक्रियाको शुभारम्भ गर्दै मुख्यमन्त्री शर्माले सबै नागरिकलाई यातायातको सहज पुहुँचमा जोड्ने गरी प्रदेश सरकार लागिपरेको उल्लेख गरे ।

यसैअन्तर्गत दुर्गमका नागरिकहरुलाई लक्षित गर्दै चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको भनाइ छ । ‘हामी कसरी हुन्छ सहज रुपमा नागरिकहरुका बीचमा सहज यातायात सेवा पुर्याउन लागिपरेका छौं,’ उनले भने ‘रुकुम पश्चिम, रुकुम पूर्व, डोल्पा, जाजरकोट, सल्यान, सुर्खेत लगायतका दुर्गम भेगका नागरिकहरुलाई लक्षित गरेर चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरेका हौं ।’

अहिले प्रदेशका सुर्खेत, जुम्ला र रुकुम पश्चिमको चौरजहारीबाट यातायातसम्बन्धी सेवा प्रवाह भइरहेकामा भोलिका दिनमा यी कार्यालयलाई व्यवस्थित गर्दै सेवालाई थप विस्तार गर्ने बारेमा पनि प्रदेश सरकार गम्भिर रहेको मुख्यमन्त्री शर्माले बताए ।

स्थापना भएपनि लामो समयदेखि कामविहिन अवस्थामा रहेको यातायात व्यवस्था सेवा कार्यालयको सेवा आफुले फागुन २१ गते शुभारम्भ गरेदेखि हालसम्म धेरैले लाभ लिएको देख्दा आफुलाई खुसी लागेको समेत दाबी गरे ।