मध्य साउनमा खानेपानीको हाहाकार

मध्य साउनमा खानेपानीको हाहाकार


महोत्तरी ।

मध्य साउनमा जताततै पानीको छेलोखेलो हुनपर्नेमा महोत्तरीमा भने खानेपानीकै हाहाकार पर्न थालेको छ ।

पानीका स्रोतका मुहान धमाधम सुक्दै गएपछि यहाँ खानेपानीको हाहाकार पर्दै गएको हो ।

“हाम्रो बस्तीका सबै चापाकल सुके, पानी आउने एउटै बाँकी छैनन्”, भङ्गाहा–४ रामनगरका ३० वर्षीय रामईश्वर ठाकुरले भने, “अब ३–४वटा इनारमा सबैको त्राण अडिएको छ, ३ सयभन्दा बढी घरधुरीको बस्तीमा ३–४ वटा इनारले धान्नै मुस्किल छ ।” बस्तीमा निजी र सार्वजनिक तवरमा जडान भएका एक सय ५० भन्दा बढी चापाकल सुकिसकेको ठाकुरले स्पष्ट पारे ।

बस्तीका इनार पनि धेरैजसो सुकेका छन् । ३–४ वटा इनारमा पानी तान्न जोडिएका मोटरपाइपका लठ्ठाले अब इनार नै नदेखिने भएका सो बस्तीकै सामाजिक कार्यकर्ता गङ्गाराम महतो बताउछन् । “सबै चापाकलमा पानी सुकिसकेका छन्, केही इनारमात्रै बाँकी छन्”, ६० वर्षीय महतो भन्छन्, “मध्य साउनमा खानेपानीकै हाहाकार परेको यसपालि भोग्दैछौँ ।” इनारमा मोटर लगाएर पाइपबाट पानी प्रबन्ध गर्न सबैको आर्थिक हैसियत नहुँदा बस्तीका अति विपन्न परिवार बढी अप्ठ्यारोमा परेका छन् ।

जिल्लाका उत्तरवर्ती क्षेत्रका भङ्गाहा, गौशाला र बर्दिबास नगरपालिकाका करिब १२० टोलबस्तीमध्ये इनार र चापाकल खानेपानीका स्रोत रहेका ठाउँमा अहिले पानीको संकट बढेको छ । इनार र चापाकल सुक्दै गएपछि ठाउँठाउँमा बोरिङ जडान गरेर मोटर पम्पबाट पानी वितरणको प्रबन्ध थालिएका छन् ।

“बस्तीका चापाकल र इनार सुक्दै गएपछि अहिले भर्खरै बोरिङ जडान थालेका छौँ”, भङ्गाहा–४ का वडाध्यक्ष गणेश महतो भन्छन्, “रामनगर विद्यालय परिसरमा बोरिङ जडान सफल भयो, अब त्यसबाट वरिपरिका सय घर परिवारले पानी पाउन थालेका छन् ।” विद्यालयका छात्रछात्रासँगै बस्तीका अति विपन्न परिवारलाई पहिलो प्राथमिकतामा पानी भण्डारण र वितरण व्यवस्थापन मिलाइएको महतोको भनाइ छ । पछिल्लो अवस्थामा चापाकल र इनारभन्दा बोरिङ बढी टिकाउ र भरपर्दो पाइएको महतो बताउछन् ।

विगतमा वैशाखरजेठमा कुनै–कुनै वर्ष केही दिन इनार, चापाकल सुकेको अनुभव भए पनिसाउनमा खानेपानीको हाहाकार भने जीवनमै पहिलो पटक भोग्नुपरेको बर्दिवास, गौशाला र भङ्गाहाका पाका व्यक्ति बताउँछन् । “विगतमा साउनमा खानेपानी नपाइएको थिएन”, गौशाला–११ लक्ष्मीनियाँकी ७० वर्षीया जिवछीदेवी महरा भन्छन्, “बरु, असार लाग्दै सुकेका चापाकल र इनारमा पानी चल्न थाल्थ्यो । यसपालि नयाँ अनुभव सँगालिएको महराको भनाइ छ ।

“हेर्नोस् न, इनारको पानी सुक्दै गएर पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो”, बर्दिबास–९ पशुपतिनगरको झ्याकुलेटोलका राजकिशोर महतोले घर अगाडिको इनार देखाउँदै भने, “यो साउनमा त इनार सुकेको थाहा थिएन ।” करिब चार हजार जनसङ्ख्या रहेको पशुपतिनगरका ७–८ टोल बस्तीमा गरी १ सय भन्दा बढी सङ्ख्यामा इनार छन् । सबैजसो इनारमा अहिले पानी जमौट (इनारको सबभन्दा तलको बन्धन, जहाँबाट इनार ठड्याउँदै लगिन्छ) को घेरामा पुगेको सो बस्तीकै महेन्द्र महतो बताउछन् ।

सामान्यतया प्रत्येक वर्ष वैशाखरजेठमा यहाँका इनारमा पानीको सतह गहिरिदै जाने भए पनि यसपालि भने चैतदेखि नै यो समस्या बढेको हो । यसपालि हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह चैतमै गहिरिएको पशुपतिनगर गोमस्ताटोलका उत्तमबहादुर रानाको भनाइ छ । पहिलेपहिले असार लागेपछि बर्खा सुरु हुने र सुकेका इनार फेरि चल्ने बेहोर्दै आएका आपूmहरुलाई यसपालि भने मध्य साउनमा यो खेप्नुपरेको राना बताउछन् ।

बस्तीका धेरैजसो इनारमा पानीको सतह जमौटमै पुगिसकेका हुँदा यहाँ मोटरबाट पानी तान्न ओछ्याइएका पाइपको काम सकिएको छ । “इनारमा पानी भए पो मोटर चलाउनु रु” पशुपतिनगर टोकीटोलका रामचन्द्र थापा मगर भन्छन्, “अब यो साउनमा नचलेको मोटर कहिले चल्ला रु”

पानी नपरेर इनारहरु धमाधम सुक्दै गएपछि बालीनाली सुक्न थालेका छन् । तरकारी खेती मुख्यबाली लगाइने यहाँ लहरे तरकारीका बोट पानी नपाएर सुक्दै गएका छन् । अहिले लटरम्म फल्नुपर्ने लौका, फर्सी, करेला, घिरौला र झिमनीका लहरा चर्को घामको रापले सुकेपछि किसानलाई खानेपानीसँगै अबको गुजाराको चिन्ताले पनि पिरोल्न थालेको छ ।

पछिल्ला दिनमा खानेपानीको सङ्कट टार्न बोरिङबाट मोटरले पानी तानेर ट्याङ्कीमा भण्डारण गरी घरघरै धाराबाट पानी दिने व्यवस्थाले केही राहत भएको सर्वसाधारण बताउँछन् । “खानसम्म त अब राहत भयो, तर खेतीपाती त उक्सने छाँट छैन”, पशुपतिनगर झ्याकुलेटोलका छठु महतो भन्छन् ।

धाराको पानीले खान जेनतेन भए पनि सिँचाइका लागि त इनार नै सखार्नु पर्ने झ्याकुलेटोलकै जलेश्वरीदेवी महतोको भनाइ छ । “कुलो नहरको कुनै विकल्प नभएको हाम्रो ठाउँमा खानेपानी र सिँचाइका लागि इनार सखार्नु (मर्मत सुधार, इनार अझै गहिर्‍याउनु) र नयाँ इनार बनाउनु नै राम्रो हुने देखिन्छ”, उनले भने ।

धारा जडान गरेर खानेपानीको प्रबन्ध गरिएपछि अब सिँचाइ प्रयोजनका लागि इनार सखार्ने काममा लागिने बर्दिबास–९ पशुपतिनगरका वडाअध्यक्ष घुरन महतोले योजना सुनाए । पानीको अभाव हुन थालेपछि बस्तीहरुमा इनार सखार्ने, बोरिङबाट पानी तानेर टङ्कीमा भण्डारण गरेर धाराबाट पानी दिने विकल्पका कुरा गरिए पनि यी स्थायी समाधान नभएका चुरे तथा वातावरण विज्ञको धारणा छ ।

पछिल्ला वर्षहरुमा प्राकृतिक सम्पदाहरु (पाहाडि थुम्का, नदी किनार, नदीउकास र वनक्षेत्र) को अनियन्त्रित दोहन बढेसँगै सन्तुलित वर्षा हुन छाडेको हुँदा पानीका स्रोतका मूहान गहिरिँदै गएका वातावरण तथा चुरे जलाधार क्षेत्रका काममा लामो अनुभव सँगालेका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव बताउछन् ।

प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन बढेसँगै वातावरणीय सन्तुलन खलबलिएको छ । यसले गर्दा अल्पवृष्टि, अनावृष्टिसँगै बाढीपहिराका समस्या बढ्दैछन् । चुरे क्षेत्रका खोल्साखोल्सीको व्यवस्थापन हुन नसक्दा त्यहाँबाट बाढीसँगै झर्ने गेगर्‍यान नदीमा थुपरिने गर्दा कतिपय बस्ती नदी सतहभन्दा होचिएर डुबानमा र शिरानका बस्ती कटानको जोखिममा पर्ने गरेका यादव बताउछन् । यसैगरी यसको प्रतिकूल प्रभाव जलाधारक्षेत्रमा पर्दा यस्ता क्षेत्र सुखा बगरमा परिणत हुँदैछन् ।

“अब यो समस्याको स्थायी समाधानका लागि प्राकृतिक सम्पदाको सन्तुलित उपयोग, सघन वृक्षारोपण, खोल्साखोल्सी व्यवस्थापन गरेर गेगर्‍यान नदीमा नझर्ने व्यवस्था र ठाउँठाउँमा पानी पुनःभरणका लागि पोखरी निर्माणमा लाग्नुपर्छ”, यादवले भने । पूर्वपश्चिम राजमार्ग माथि (उत्तर) को चुरे पहाडी क्षेत्रमा खनिने पोखरीले तलसम्मकै जमिनको सतहमा पानी रसाउँदै गएपछि इनार, बोरिङ सुक्ने समस्या घट्दै जाने यादवको भनाइ छ ।

यस कार्यमा पूर्वपश्चिम राजमार्ग ओरपरका स्थानीय तहले संयुक्त रुपमै पहलकदमी बढाए यो बढी प्रभावकारी हुने यादवले बताए । “हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्थाको सहयोगमा चुरे क्षेत्रका खोल्सी व्यवस्थापन थालेका छौँ, धनुषाको मिथिला र महोत्तरीको बर्दिवास र गौशाला नगरक्षेत्रमा पानी पुनःभरणका एक सय ८८ पोखरी खनिएका छन्”, यादव भन्छन्, “यो प्रयत्न व्यापक बढाउन स्थानीय तहको सहभागिता आवश्यक छ ।”

चुरेका खोल्साखोल्सीको प्रभाव भारतीय सीमावर्ती क्षेत्रसम्म पर्ने हुँदा ती भेगका स्थानीय तहले पनि ‘पाहाड र खोल्साखोल्सी त हाम्रो भूगोलमा छैनन्’ भनेर बेवास्ता गर्ने अवस्था नरहेको अर्का चुरे तथा जलाधारविज्ञ डा. विजयकुमार सिंह बताउछन् । खोल्सी व्यवस्थापन र पानी पुनःभरणका पोखरी बनाउन महोत्तरीका मात्र नभएर कमला पश्चिम र वागमती पूर्वका धनुषा र सर्लाहीका स्थानीय तहहरुले यस दिशामा तत्काल पहलकदमी बढाउन पर्ने सिंहको सुझाव छ ।