सामाजिक सञ्जालबाट आफ्नै नेता खुइल्याउने प्रवृत्ति बढ्यो : अर्थमन्त्री महत

सामाजिक सञ्जालबाट आफ्नै नेता खुइल्याउने प्रवृत्ति बढ्यो : अर्थमन्त्री महत


काठमाडौँ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसकै नेताहरूले सामाजिक सञ्जालमा नेतृत्वलाई निचा देखाउने र आफूलाई उच्च देखाउने काम गरेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौँमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा कांग्रेसका प्रवक्तासमेत रहेका महतले कांग्रसले गरेको राम्रो कामको प्रचार नगर्ने तर एक-अर्काको कमजोरीको चाहिँ प्रचार गर्ने प्रवृत्तिले पार्टी बलियो नहुने बताए ।

उनले भने, ‘नेपाली कांग्रेसले काम गर्छ तर प्रचार गर्दैन । प्रचारचाँहि एक-अर्काको कमजोरीको गर्छौं । सामाजिक सञ्जाल छँदै छ, जताततै पुगिहाल्छ । सामाजिक सञ्जालमा एक-अर्कालाई होच्याउने काम बन्द गरौँ । संयन्त्र छ, त्यहाँ छलफल गरौँ । हामीले गरेको काम जनताको बीचमा पुर्‍याऔँ ।’

नेता महतले सबै नकारात्मक सोचलाई पछाडि छाडेर मिसन ८४ मा लाग्नुपर्ने धारणा पनि राखे ।