पक्राउ परेका लामालाई स्थानीयले हतकडीसहित भगाए

पक्राउ परेका लामालाई स्थानीयले हतकडीसहित भगाए


बारा ।

बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त भएको छ ।

इलाका प्रहरी कार्यालय निजगढबाट आज बिहान ६ बजे हतियार रहेको आंशकामा छापा मारी पक्राउ परेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो ।

करिब ३ सयको संख्यामा आएका स्थानीयले १५ जनाको संख्यामा रहेकाे प्रहरी टोलीमाथि ढुंगामुढा गरी हतियारसहित पक्राउ परेका लामालाई हतकडीसहित भगाउन सफल भएका छन् ।

दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । शाहीको बायाँ हातमा चोट लागेर घाइते बनेका छन् भने गिरीको बायाँ कुम्भ र बायाँ हातमा चोट लागेर घाइते भएका हुन् ।

प्रहरीविरुद्ध स्थानीय खनिएपछि प्रहरीले ५ राउन्ड हवाई फायरसमेत गरेको छ । ठुला हतियार रहेको गोप्य सूचनाका आधारमा निजको घरमा छापा मार्न प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

छापामारीपछि लोड भएको भरुवा बन्दुकसहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुचुल्का बनाएर लैजाने क्रममा जंगल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, बाघकाे रौं १३ वटा र नंग्रा ३ वटा बरामद गरेको बोगटीले बताए । लामा वन्यजन्तुको शिकारीमा संलग्न रहेको जनाउँदै खोजी भइरहेको प्रहरीले जनाएको छ ।