ठगी गरेकाे समाचारपछि टिभिएस धरानले फिर्ता गर्‍याे बढी लिएकाे रकम

ठगी गरेकाे समाचारपछि टिभिएस धरानले फिर्ता गर्‍याे बढी लिएकाे रकम


धरान ।

बिलमा भूलवश त्रुटि भएको भन्दै टिभिएस धरानले ग्राहकबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेको छ ।

सोमबार टिभिएस धरानले ग्राहकसँग एमआरपीभन्दा बढी शुल्क लिएकाे समाचार प्रकाशित भएपछि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस धरानले गल्ती गरेको स्वीकार गर्दै ग्राहकबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न भनेको हो ।

जगदम्बा मोटर्सका एक प्रतिनिधिले मेकानिकलाई दिनुपर्ने कमिसनको १० प्रतिशत एमआरपी भित्रबाट काट्नुपर्ने बताए । उनले भने, ‘त्यो दिन काउन्टरमा नयाँ कर्मचारी भएकाले बिलमा त्रुटि भएको रहेछ । हामीले ग्राहकसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न भनेका छौँ ।’

प्राप्त भ्याट बिल अनुसार पार्टकाे मूल्य १६ हजार ८५८ रुपैयाँ देखिन्छ । साेमा १३ प्रतिशत भ्याट थपेर १९ हजार ५० रुपैयाँ लिएकाे छ । टिभएस धरानले सोही रकमको १० प्रतिशत अर्थात १ हजार ९०० रुपैयाँ ‘लोकल ग्यारेज’का मेकानिकलाई दिएको हो । तर पीडित ग्राहक आफैँ मोटर पार्टस् किन्न साेरुममा गएर बिल आफैँ तिरेको बताउँछन् ।

‘मैले बिचौलिया राखेर सामान खरिद गरेको होइन । मैले आफैँ टिभिएसको आधिकारिक साेरुममा गएर सामान किनेंको हुँ ।’

१९ हजार रुपैयाँको सामान खरिद गर्दा ग्राहकलाई एक रुपैयाँ पनि छुट नदिने साेरुमले यसरी ग्राहकलाई थाहै नदिई एमआरपी बढाएर मेकानिकलाई कमिसन दिनु गलत हो । भन्छन्– ‘म सजग थिएँ र पैसा फिर्ता पाएँ । अन्य ग्राहक पनि ठगिएका हुन सक्छन् ।’

यता, टिभिएस धरानका सञ्चालक गंगा राईले आफ्नो तर्फबाट गल्ती भए पनि अन्य ग्राहकसँग त्यस्तो घटना नभएको बताए । उनले भने, ‘मेकानिकलाई एमआरपीबाट १० प्रतिशत दिने गरेका थियौँ । ग्राहकलाई थप शुल्क लिने हाम्रो मनसाय थिएन । तर यस पटक बिल बनाउँदा त्रुटि भयो। हामीले उहाँबाट लिएको अतिरिक्त रकम फिर्ता गरेका छौँ ।’