फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालय बनाइने

फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालय बनाइने


काठमाडौं ।

नेपालको पहिलो र एसियाको दोस्रो ५ सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनी लि.लाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ ।

ऐतिहासिक जलविद्युत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरूको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरू निर्माण गरिनेछन् ।

काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युतगृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पोट, पुस्तकालय, बाल उद्यानलगायतका संरचनाहरू निर्माण गरिनेछन् । जलविद्युत केन्द्रका संरचनाहरूलाई जीर्णोद्धार गरी सङ्ग्रहालयको रूपमा विकास गरिनेछ ।

परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचनाहरू निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युतगृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिनेछ ।

फर्पिङ जलविद्युत् केन्द्र १९६८ जेठ ९ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणा परिवारलगायतमा विद्युत् वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत सात लाख १३ हजार रुपैयाँ थियो ।

केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो । केन्द्रको मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ ।