फराकिलो बनाइँदै नगरका मुकाम, संरचना हटाउन सुचना

फराकिलो बनाइँदै नगरका मुकाम, संरचना हटाउन सुचना


बागलुङ ।

नगरका मुकाम रहेका बजार क्षेत्रको सडक फराकिलो बनाउन बागलुङ र जैमिनी नगरपालिकाले सक्रियता बढाएका छन् ।

जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारमा नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र रहेका संरचना हटाउन सार्वजनिक सूचना गरेको हो ।

जैमिनी नगरपालिकाले गत आर्थिक वर्षमै पालिका मुकाम रहेको कुश्मीशेरा बजारका दर्जनौँ कच्ची तथा पक्की संरचना भत्काएको थियो ।

बागलुङ नगरपालिकाले पनि सोमबार अन्तिम पटकको सूचना भन्दै साउन मसान्तसम्म सडक मापदण्डमा पर्ने संरचना हटाउन भनेको छ ।

संरचनाहरु तोकिएको समयमा नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४५ को उपदफा ४ बमोजिम भदौ १ गतेदेखि नगरपालिकाले नै हटाउने उल्लेख गरिएको छ ।

सडक क्षेत्राधिकारभित्र बने÷बनाइएका घर, टहरा, पर्खाल, ट्रस, छाना, रेलिङ, अव्यवस्थितरूपमा टिकट काउन्टरलगायत अन्य स–साना व्यवसाय गर्ने टङ्कीजस्ता संरचनाहरु तथा सडकमा राखिएका निर्माण सामग्रीहरु रड, सिमेन्ट, साइनबोर्ड हटाउन नगरले अनुरोध गर्दै आएको हो ।

सडकमै बनेका संरचनाका कारण पैदल यात्रु र सवारी साधनसमेतलाई असहज भएको, वातावरण तथा नगरको सौन्दर्यमा समेत प्रतिकूल असर पु¥याएको सूचनामा उल्लेख छ ।

सडक क्षेत्राधिकार भित्रका त्यस्ता संरचना हटाएर सहरी सौन्दर्यकरणलाई दिगोरूपमा व्यवस्थापन गरी सफा, सुन्दर र हराभरा नगर निर्माणको अभियानमा सहयोग गर्न नगरवासीलाई अनुरोध गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

उक्त नगरपालिकाले यसभन्दा अघि ९० दिनको म्याद राखी सूचना प्रकाशन गरे पनि त्यस्ता संरचना नहटाइएपछि अन्तिम पटक भन्दै पुनः सूचना निकालेको हो ।

जैमिनी नगरपालिकाले पनि पटक पटक सूचना गरेर सडक मापदण्डमा पर्ने संरचना हटाएको छ । उक्त नगरपालिकाको कुश्मीशेरा बजारका अधिकांश संरचना स्थानीय आफैँले हटाएको थियो । नगरपालिकाले मुकामको मूल सडक आठ मिटर र भित्री सडक छ मिटर कायम हुनुपर्ने मापदण्ड बनाएको छ । कुश्मीशेरा बजारवासीले आफ्नै सक्रियतामा अधिकांश संरचना हटाएकाले नगरपालिकाले संरचना भत्काउन नपरेको उनले बताए ।

बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले साँघुरा सडकका कारण दुर्घटनाको जोखिम बढेको भन्दै पटक–पटक सडकपेटीमा कुनै पनि व्यावसायिक सामग्री नराख्न आग्रहसमेत गर्दै आएका थिए । कुश्मीशेरा बजारमा कार्यान्वयन भएको नगरको निर्देशन बागलुङ बजारमा भने अटेरी भएपछि पछिल्लो साता नगरपालिकाले सडक नै कब्जा गर्नेगरी राखिएका सामग्री जफतसमेत गरेको थियो ।