मन्त्रीकाे पब्लिसिटी स्टन्ट : गाडी एउटा, बाँड्ने २ जना त्याे पनि फरकफरक मितिमा

मन्त्रीकाे पब्लिसिटी स्टन्ट : गाडी एउटा, बाँड्ने २ जना त्याे पनि फरकफरक मितिमा


सिन्धुपाल्चोक ।

संघ, प्रदेश र स्थानीय सरकारका आ–आफ्नै काम, कर्तव्य र अधिकारका सीमा छन् । उनीहरूबीच आपसी समन्यवयमा मात्रै हरेक काम थप प्रभावकारी हुने गर्छ ।

तर, हाम्रो मुलुकका तीनै तहका सरकारबीच अहिले तालमेल र आपसी समन्वय भएको देखिँदैन, चाहे ती संघका मन्त्री हुन् वा प्रदेशका- आ–आफ्नै पाराले चल्ने गरेका उदाहरण थुप्रै छन् । उनीहरू न आफ्नो हैसियतअनुसार काम गर्छन्, न त कुनै समन्वय नै । अरूले गरेका कामको जस लिन भने मरिहत्ते गर्छन् ।

अहिले बाग्मती प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशी र संघीय स्वाथ्यमन्त्री मोहनबहादुर बस्नेतबीच पनि यस्तै प्रचारबाजीको नियति देखियो ।

प्रसंग हो–अस्पतालहरूमा शव वाहन हस्तान्तरणको । गएको साउन १४ गते बाग्मती सरकार मातहतका ७ अस्पतालका सम्बन्धित प्रतिनिधिहरूलाई  प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले शव वाहन हस्तान्तरण गरे  ।

प्रदेश सरकारले एक कार्यक्रमका बीच आइतबार बाग्मती प्रदेशभित्रका सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, सिन्धुली र चितवनको प्रादेशिक अस्पताललाई शव वाहन हस्तान्तरण गरिएको थियो । शव वाहन हस्तान्तरण कार्यक्रममा चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झा पुगेका थिए । प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले डा. झालाई शव वाहनकाे चाबी हस्तान्तरण गरे ।

साउन १४ गते तर बाग्मती प्रदेश सरकारको यस्तो कामले एकै पार्टी नेपाली कांग्रेसबाट संघीय स्वास्थ्यमन्त्री बस्नेत चित्तप्रसन्न नभएको देखियो  । प्रदेश मन्त्री जोशीले सिन्धुपाल्चोकसहित ७ जिल्लालाई एकै पटक  शववहान हस्तान्तरण गरेको २ दिनपछि जिल्ला अस्पताल चौताराका मेडिकल सुपरिटेन्डेन्ट डा. झालाई आफूकहाँ बोलाए ।

२ दिनअघि प्रदेश सरकारका मन्त्रीको हातबाट शव वाहन बुझेका उनै डा. झा बस्नेतको बोलावटपछि हानिएर साउन १६ गते मंलबार काठमाडाैँ  पुगेर सोही शव वाहन हस्तान्तरण कार्यक्रममा पुगे । र मन्त्री बस्नेतले सोही शव वाहन डा. त्रिभुवन झालाई नै चाबी दिएर हस्तान्तरण गरे ।

डा. झाले भने , ‘शव वाहन एउटै हो । १४ गते प्रदेश स्वास्थ्यमन्त्रीबाट चाबी हस्तान्तरण कार्यक्रमबाट लिएको थिएँ । सोही शव वाहनको चाबी मैले फिर्ता दिएर आज संघका स्वास्थ्यमन्त्रीज्यूले हस्तान्तरण गर्नुभएको हो । ७ जिल्लामा हस्तान्तरण गर्दा मन्त्री बस्नेतज्यूलाई टारगेट गरेर दिएको थियो अनि काठमाडाैँबाट फेरि लिएको हो ।’

मन्त्री बस्नेतले फिर्ता लिइएका चाबी खामबन्दी गरे अनि चौतारा अस्पतालका डा. झालाई हस्तान्तरण गरे । मन्त्री बस्नेतद्वारा चौतारा अस्पताललाई शव वाहन हस्तास्तरण भन्दै व्यापक प्रचारबाजी गरियो । जिल्लाबासीलाई लाग्याे- अस्पतालले दुइटा गाडी पायाे, तर गाडी एउटै हाे, दिइएकाे २ पटक ।

प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सिन्धुपाल्चोकको चौतारा अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट, रसुवाको रसुवा अस्पताल, नुवाकोटको त्रिशूली अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल र चितवनको बकुलहर रत्ननगर अस्पताललाई शव वाहन हस्तान्तरण गरिएको थियो ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठका अनुसार मन्त्रालयबाट स्वीकृत कार्यक्रमअनुसार आर्थिक वर्ष २०७९/८० मै खरिद गरिएको शव वाहन प्रादेशिक अस्पतालहरूलाई हस्तान्तरण गरिएको हो । भन्सार छुटमा खरिद गरिएका ७ वटा शववाहन टेन्डरमार्फत् कुल १ करोड ८ लाख ६५ हजार रुपैयाँ लागतमा गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत खरिद गरिएको श्रेष्ठको भनाइ छ ।