मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न उपराष्ट्रपति यादवको आग्रह

मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न उपराष्ट्रपति यादवको आग्रह


काठमाडौँ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न संघ र प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

महोत्तरीको मटिहानी नगरपालिकामा आयोजित राष्ट्रिय झन्डाको समुद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले मधेस प्रदेशका जनता तथा किसानप्रति संवेदनशील भएर कामकाज गर्न र यस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न आग्रह गरेका हुन् ।

सिँचाइको समस्या छँदैछँदा सुख्खाको समस्या पनि मधेस प्रदेशभरि नै थपिएको र यसले गर्दा पिउने पानीको समेत समस्या विकराल देखिएको भन्दै उनले संवेदनशील हुन संघ र प्रदेश सरकारलाई आग्रह गरे ।

उपराष्ट्रपति यादवले मटिहानी नगरपालिकाले राष्ट्रियताको परिचय दिँदै ११० फिटको अग्लो नेपालको झन्डा जडान गरेको र सो झन्डाको समुद्घाटन गर्न पाउँदा आफू हर्षित भएको बताए ।

‘नेपालमै पहिचान, सम्मान र राष्ट्रियतासँग जोडिएको राष्ट्रिय झन्डालाई अबका दिनमा हेरविचार गर्न मटिहानी नगरपालिका र मटिहानीबासीलाई आग्रह गर्दछु’, उनले भने ।

नागरिक अभिनन्दन कार्यक्रममा सरिक भएका मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेशको दिगो विकासका लागि आग्रह गरे ।

कार्यक्रममा मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले सरकार सदैव नागरिककाे सवालमा संवेदनशील भएको बताए ।