अन्ततः लालबहादुरले पाए न्याय, जिल्लाकाे फैसला उल्टाउँदै उच्चले दियाे सफाइ

अन्ततः लालबहादुरले पाए न्याय, जिल्लाकाे फैसला उल्टाउँदै उच्चले दियाे सफाइ


काठमाडाैँ ।

ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले न्याय पाएका छन् । उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाउँदै लालबहादुर विकलाई न्याय दिएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश उल्टाएकाे हो ।

जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्च अदालतमा पटक-पटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको यो मुद्दामा आज फैसला भएको हो ।

लालबहादुर २०७३ सालमा इटहरी उपमहानगरपालिका- २०, तरहराको सिंहदेवी ज्वेलर्समा काम गर्न गएका थिए । पसलमा पैसा जम्मा गर्न ल्याउनेहरूबाट रकम लिएपछि पासबुकमा लालबहादुरलाई पैसा बुझिलिएको हस्ताक्षर गर्न लगाउँथे ।

‘मालिकले पैसा जम्मा गरेर सेफमा राखे । मलाई पासबुकमा साइन गर् भनेपछि गरेँ’, १९ मंसिरमा जेल जानुअगाडि लालबहादुरले रुँदै सुनाएका थिए ।

सर्वसाधारणले जम्मा गरेको सोही रकम फिर्ता गर्न नसकेपछि दीपक र उनका बुबा कृष्णसँगै लालबहादुरलाई समेत जिल्ला अदालतले दोषी करार गर्‍यो । १९ पुस २०७८ मा जिल्ला अदालत सुनसरीकी न्यायाधीश निर्मला योङ्वाको इजलासले दीपक, उनका बुबा कृष्ण, दिदी सीतासँगै लालबहादुरलाई पनि दोषी ठहर गर्‍यो ।

विश्वकर्मालाई ठगी गरेको मुद्दामा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र ४ करोड ७१ लाख १६ हजार ७ सय २४ रुपैयाँ विगो तिर्नुपर्ने फैसला गरेको थियो । फैसलापछि उनी झुम्कास्थित कारागारमा थिए ।