रामपुर नगरपालिकाले प्रतियुनिट १० रुपैयाँले घटायो खानेपानीको महसुल

रामपुर नगरपालिकाले प्रतियुनिट १० रुपैयाँले घटायो खानेपानीको महसुल


पाल्पा ।

रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ ।

उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०८०/ ८१ को साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ ।

पाल्पाकै सबैभन्दा ठूलो खानेपानी आयोजनाका रुपमा रहेको यस संस्थाले थोरैदेखि धेरै पानी उपभोग गर्ने उपभोक्तालाई ध्यानमा राखेर बर्सेनि महसुल दर घटाउँदै आएको छ ।

८ युनिटसम्म न्यूनतम दर १७५ यथावत् राखिएको छ । ९ देखि २० युनिटसम्म (न्यूनतम रकम १७५ सहित) प्रतियुनिट ४० घटाएर ३० रुपैयाँ बनाइएको छ । २१ युनिटभन्दा माथि (न्यूनतम रकम १७५ सहित) प्रतियुनिट ६३ घटाएर ५३ रुपैयाँ महसुल कायम गरिएको संस्थाका अध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले जानकारी दिए ।

३ हजार २ सय धारा जडान गरी घर–घरमा सफा, स्वच्छ र शुद्ध खानेपानी वितरण गर्ने संस्थाको लक्ष्य रहेको छ । हाल ३ हजार ९ सय २३ धारा जडानका लागि उपभोक्ताले शुल्क बुझाएका छन् । अहिले ३ हजार ४९३ धारामा नियमित पानी वितरण भइरहेको छ । ४३० धारा जडान गर्न बाँकी छ । सात हजार धारा जडान गर्न करिब ५० करोड खर्च हुने अनुमान गरिएको संस्थाका कोषाध्यक्ष विष्णुमाया ढकालले जानकारी दिए ।

रामपुर–४, ५, ६ र ७ को तल्लो क्षेत्रमा आयोजनामार्फत पानीको सुविधा पुगेको छ । यस आयोजनाबाट हाल दैनिक बिहान–साँझ ३÷३ घण्टा खानेपानी वितरण भइरहेको छ । खानेपानी वितरणका लागि १८० किलोमिटरभन्दा बढी पाइप जडान र ५ किलोमिटर फलामजडित पाइप विस्तार गरिएको छ ।

रामपुर–५ स्थित राम्चे सामुदायिक वनमा साढे ४ लाख लिटरका दुईवटा ( ९ लाख लिटर) ट्यांकी बाट पानी वितरण भइरहेको छ । रामपुर–७ डुम्रीगाउँमा दुई लाख लिटर र कार्कीडाँडामा डेढ लाख लिटरका ट्यांकी राखेर पानी वितरण भइरहेको संस्थाले जनाएको छ ।

आयोजनामार्फत पानी वितरण हुन थालेपछि खानेपानीका लागि अन्यत्र भौँतारिएर हिँड्नुपर्ने समस्या सदाका लागि अन्त्य भएको उपभोक्ता मनिराज तिवारी बताउछन् । खानेपानी महसुल शुल्क घटेपछि राहत पुगेको उनको भनाइ छ ।

आयोजना सुरु हुनुअघि स्थानीयवासीले खडेरी याममा खानेपानीका लागि सास्ती खेप्दै आएका थिए । नेपाल सरकार नगर विकास कोषको सहयोगमा २०६७ सालमा सुरु भएको उक्त आयोजना २४ करोड ५० लाखको लागतमा २०७३ भदौमा सम्पन्न भएको हो ।

५० प्रतिशत सरकारको अनुदान, नगर विकास कोषको ४५ प्रतिशत ऋण सहयोग र ५ प्रतिशत उपभोक्ताको सहयोगमा सो आयोजना सम्पन्न भएको हो ।