सुस्तापूर्व जिल्लामा उत्पादित खाद्यान्न अपुग, बाहिरबाट आयात

सुस्तापूर्व जिल्लामा उत्पादित खाद्यान्न अपुग, बाहिरबाट आयात


नवलपरासी ।

बर्दघाट सुस्तापूर्व कृषिमा आत्मनिर्भर नहुँदा बाहिरबाट खाद्यान्न आयात गर्नुपरेको छ । उत्पादित खाद्यान्नले जिल्लावासीलाई नै खान पुग्दैन ।

जिल्लामा रहेका ८ वटै पालिकाले कृषिलाई प्राथमिकतामा राखे पनि जिल्लावासीलाई खान पुग्ने अन्नबालीसमेत जिल्लामै उत्पादन हुन नसकेको तथ्यांक देखिएको छ । जिल्लामा उत्पादित खाद्यान्न अपुग भएपछि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने अवस्था छ ।

जिल्लामा मुख्यगरी धान, गहुँ, मकै, कोदो, जौँ र फापरको उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेका अनुसार जिल्लामा उत्पादित खाद्यान्न बालीले जिल्लालाई नै थेग्न सक्दैन ।

प्रतिव्यक्ति प्रतिवर्ष एक सय ८१ किलोग्राम खाद्यान्न आवश्यक पर्छ । केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷८० मा धान, गहुँ, मकै, कोदो, जौँ र फापर गरी खानयोग्य ६२ हजार ४५ मेट्रिक टन खाद्यबाली उत्पादन भएको प्रमुख लामिछानेले बताए ।

कृषि खाद्यान्न बालीमा आत्मनिर्भर हुनका लागि जिल्लामा एक वर्षमा ६८ हजार ९ सय ८० मेट्रिक टन आवश्यक पर्छ । जिल्लामा बसोबास गर्ने तीन लाख ८१ हजार १ सय ५ जनसंख्यालनई यहाँको उत्पादनले नपुग्ने गरेको उनले बताए ।

“जिल्लामा आव २०७९÷८० मा ८३ हजार एक सय २७ मेट्रिक टन धान उत्पादन भएको थियो, त्यसमा खानका लागि योग्य धान ४२ हजार ९९.६४ मेट्रिक टन रहेको छ”, उनले भने, “उत्पादित धानमध्ये एक हजार एक दशमलव नौ मेट्रिक टन बीउको रुपमा प्रयोग भएको छ, पशुपक्षी आहारमा ८५९ मेट्रिक टन धान प्रयोग हुने गरेको छ ।”

त्यस्तै गहुँ २१ हजार दुई सय १८ मेट्रिक टन उत्पादन भएकामा खानका लागि योग्य १४ हजार चार सय ४९ मेट्रिक टन मात्र रहेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताए ।

उत्पादितमध्ये २९४ मेट्रिक टन पशुपक्षीको आहारका रूपमा प्रयोग हुने गरेकोे छ, बीउको रुपमा ८९३ मेट्रिक टन प्रयोग हुने गरेको छ ।

मकै १३ हजार ५२० मेट्रिक टन उत्पादन भएको थियो, त्यसमा खानका लागि योग्य मकै ५आठ सय ४७ मेट्रिक टन रहेको छ, उत्पादित मकैमध्ये बीउका लागि एक सय ३७ मेट्रिक टन प्रयोग हुने गरेको छ, त्यस्तै पशुपक्षी आहारमा ३ हजार ९ सय ९८ मेट्रिक टन मकै प्रयोग हुने गरेको छ ।

जिल्लामा कोदो उत्पादन निकै कम हुने गरेको छ । अघिल्लो आवमा दुई सय ८५ मेट्रिक टन कोदो उत्पादन हुँदा १० प्रतिशतमात्रै भण्डारण गरिने गरेको र अझै १४ दशमलव ३८ मेट्रिक टन अपुग हुने गरेको लामिछानेले बताए ।

फापरको उत्पादन ९५ मेट्रिक टन हुँदा खानका लागि योग्य फापर २३ मेट्रिक टन रहेको छ भने जिल्लामा जौँ खेती भने हुन छाडेको छ ।

जिल्लामा दलहन र तेलहन बाली पनि अपुग हुने गरेको प्रमुख लामिछानेले बताउनुभयो ।

उत्पादन ५ हजार ५ सय २६ मेट्रिक टन रहेको छ, उत्पादनमध्ये खानका लागि योग्य दलहन चार हजार आठ सय पाँच दशमलव ५३ मेट्रिक टन रहेको छ ।

जिल्लामा ६१ दशमलव ७९ मेट्रिक टन दलहनको कमी रहेको छ । त्यस्तै जिल्लामा तेलहनको उत्पादन पनि दुई हजार चार सय ४६ दशमलव ५२ मेट्रिक टन कम हुने गरेको छ ।