ल्यान्डफिल साइटमा लान नसकेपछि दमकल शाखामै पुरियाे फाेहाेर

ल्यान्डफिल साइटमा लान नसकेपछि दमकल शाखामै पुरियाे फाेहाेर


पोखरा ।

स्थानीयबासीको अवरोधसँगै १ सातायता पोखराको फोहोर व्यवस्थापन गर्न नसकिएपछि यहाँको दमकल शाखा परिसरमै पुरिएको छ ।

पोखरा महानगरपालिका–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिल साइटमा फोहोर पुर्‍याउन नसकिएपछि दमकल शाखा परिसरमै पुरिएको हो ।

फोहोर नउठेका कारण बजार क्षेत्र दुर्गन्धित बन्दै जान थालेपछि उक्त फोहोर उठाएर महानगरपालिकाको दमकल शाखामा ल्याइएको थियो ।

बजारमा रहेको फोहोरको तत्कालीन व्यवस्थापनका लागि दमकल शाखामा ल्याइएकामध्ये १५ ट्रक फोहोर त्यहीँ परिसरमा खाल्डो खनेर गाडिएको सरसफाइ शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् ।

फोहोर व्यवस्थापन सम्बन्धमा स्थानीयबासीसँग छलफल भइरहेको र समस्या समाधान भएसँगै त्यो फोहोर पुनः ल्यान्डफिलसाइटमा नै लगिने उनले बताइन् ।

पोखराका मुख्य बजार क्षेत्र न्युरोड, नयाँबजार, पृथ्वीचोकलगायत स्थानकाे फोहोर उठाएर गाडीमा राखी दमकल शाखा परिसरमा लगिएको जानकारी दिँदै उनले फोहोर लैजाने व्यवस्था भइनसकेकाे अवस्थासम्म घरघरमा नै त्यसलाई राख्न महानगरले सार्वजनिक सूचना गरेको बताइन् ।

पोखरा बजार क्षेत्रमा दैनिक करिब ८० ट्रक फोहोर उठ्ने गरेको बरालले जानकारी दिनुभयो । महानगरपालिकाले विगत ६ महिनायता वडा-३२ लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तयार गरी फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

यसअघि वडा-१४ स्थित बाच्छेबुडुवामा फोहोर फलिँदै आएकामा नयाँ पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन थालेसँगै अस्थायी ल्यान्डफिल साइट तयार गरिएको हो ।

अस्थायी ल्यान्डफिल साइटका लागि लामेआहालका स्थानीयबासीसँग महानगरपालिकाले १६ बुँदे सहमति गरेकामा त्यसलाई लागू नगरेको र ६ महिनापछि अन्यत्र व्यवस्थापन गर्ने भनिए पनि त्यो नभएको भन्दै स्थानीयबासीले फोहोर फाल्न रोक लगाउँदै आएका छन् ।