संघीय र स्थानीय सरकारलाई गिज्याइरहेकाे तारकाे गुजुल्टाे

संघीय र स्थानीय सरकारलाई गिज्याइरहेकाे तारकाे गुजुल्टाे


काठमाडौँ ।

राजधानी सहर काठमाडौँका सडकमाथिका दायाँबायाँ भागमा तारैतारले जेलिएको दृश्य जताततै देखिन्छ । जेलिएका तारमा विद्युत् सर्ट भई आगलागीका घटना बेलाबेलामा भइहेका हुन्छन् ।

यी तार व्यवस्थित गर्न प्रयास नभएकाे पनि होइन, तर यसले सार्थक रूप लिन नसक्दा राजधानी सहर कुरूप भएको महानगरबासीको गुनासो छ । बिजुली, टेलिफोन, केबल नेटवर्क, इन्टरनेटलगायतका तार विद्युतकाे पोलमाथिबाट लगिएको छ ।

यसरी जेलिएको तारलाई व्यवस्थित गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिका जस्ता निकाय लागि परे पनि यसले सार्थक रूप लिन सकेको छैन । महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकार तार व्यवस्थापनका लागि पटक-पटक प्रयास गरे पनि सफल हुन नसकेको स्वीकार गर्छन् ।

पहिले मन्दिरै मन्दिरको सहरका नामले विश्वमा विख्यात भएको काठमाडौँ तारैतारले कुरूप भयो भनी प्रचार होला भन्ने चिन्ता लाग्न थालेको उनले सुनाए ।

महानगर सभा र कार्यपालिकाको बैठकमा सदस्यले यसलाई व्यवस्थापनका लागि पटक-पटक आवाज उठाउने गरेका छन् । तार व्यवस्थापनले सार्थक रूप भने पाउन सकेको छैन । प्राधिकरणले विद्युत् पोल भाडाको विषय बेलाबेलामा उठाउने गरेको छ ।

धेरै निकाय जोडिने तार व्यवस्थापनको काम समन्वयात्मक रूपमा अघि नबढाउँदा समस्या समाधानमा समय लागेको असन निवासी राजेन्द्र बज्राचार्य बताउँछन् । कार्यालय र पदाधिकारी विशेषले चाहेर मात्र समाधान नहुने समस्या भएकाले समन्वयात्मक रूपमा काम गरिनुपर्ने उनको भनाइ छ ।

तार व्यवस्थापनको काम सुरु भएका स्थानमा राम्रो देखिन थाले पनि पूरा हुन सकेको छैन । काम पूरा नहुनुमा सरोकार भएका निकायबीच समन्वय हुन नसक्नु मुख्य कारण रहेको जनाइएको छ ।