सातदाेबाटाे र एकान्तकुनामा कहिले बन्ला फ्लाइओभर ?

सातदाेबाटाे र एकान्तकुनामा कहिले बन्ला फ्लाइओभर ?


काठमाडाैँ ।

ग्वार्काेमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप २ चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन ।

सडक विभागले ग्वार्काे चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो । ती २ स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्माण अघि बढाउन नसकिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन सम्भाव्यता अध्ययन भइसकेको भए पनि तत्काल निर्माण अघि बढ्ने नदेखिएको केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले बताए । उपत्यकामा ग्वार्काेसँगै २ चोक गरी जम्मा ३ चोकमा अध्ययन भएको थियो । उनले भने, ‘पहिलो चरणमा ग्वार्काे चोकमा निर्माणमा गरिएको हो । अब २ ठाउँमा पनि निर्माण गर्नुपर्छ ।’

यी २ चोकमा फ्लाइओभर निर्माणका लागि अर्थ मन्त्रालयबाट सहमति मागिएको उनले बताए । सहमति भएमा यही वर्ष पनि ठेक्का हुन सक्ने उनकाे भनाइ छ ।

यी दुवै चोकमा प्रारम्भिक अध्ययन भइसकेको भए पनि विस्तृत अध्ययन हुन बाँकी छ । ग्वार्काे चोकमा जस्तै त्यसमा पनि इन्जिनियरिङ प्रोक्युमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलबाट अध्ययन हुने इन्जिनियर श्रेष्ठले बताए । यो विधिबाट ठेक्का गर्दा डिजाइन निर्माण कम्पनीले गर्ने उनले जानकारी दिए ।

संरचना निर्माणका लागि गत वर्ष नै विभागले बजेट सहमतिका लागि अर्थ मन्त्रालय पठाएको थियो । त्यहाँबाट स्वीकृत नभएकाले गर्न नसकिएको र यो वर्ष हुनसक्ने उनको भनाइ छ । विभागले एकान्तकुना र सातदोबाटोमा दुवै चोकमा एकसाथ निर्माण गर्ने गरी रकम माग गरेको उनको भनाइ छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ग्वार्काे फ्लाइओभर सम्पन्न गर्नेसँगै एकान्तकुना, सातदोबाटो र बानेश्वरमा ‘फ्लाइओभर’, ‘अन्डरपास’ निर्माण गर्ने उल्लेख छ ।

अहिले बानेश्वरमा ‘अन्डर पास’ निर्माणका लागि केन्द्रले सम्भाव्यता अध्ययन गरिरहेको छ । अध्ययन सकिएर बजेटको विषयमा कुरा हुने उनले बताए ।

बानेश्वरमा अहिले तत्काल निर्माणमा जाने योजना बनिनसकेको उनको भनाइ छ । चीन सरकारको सहयोगमा खसी बजारबाट कलंकीमा निर्माण भएको जस्तै नै ‘अन्डर पास’ निर्माण गर्ने योजना छ ।