उद्योग वाणिज्य महासंघले सरकारलाई भन्याे— निर्माण व्यवसायीका माग पूरा गर

उद्योग वाणिज्य महासंघले सरकारलाई भन्याे— निर्माण व्यवसायीका माग पूरा गर


काठमाडाैँ ।

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले सम्पन्न भइसकेका कामकोसमेत भुक्तानी रोकेको भन्दै आन्दोलनरत निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले आज विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीद्वारा विभिन्न माग राखी भइरहेको आन्दोलनबारे ध्यानाकर्षण भएको जनाएको हो ।

‘कुल गार्हस्थ्य उत्पादनमा ठुलो योगदान रहेको निर्माण व्यवसाय क्षेत्रका जायज माग सुनुवाइमा भइरहेको ढिलाइले निर्माण मात्र नभई समग्र अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको छ । व्यवसायीले निर्माण कार्य सम्पन्न गरे पनि भुक्तानी नहुँदा वित्तीय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको हुँदा त्यसतर्फ सरकार संवेदनशील हुनु जरुरी छ,’ महासंघले भनेको छ ।

विकास निर्माण र सर्वसाधारणको जीवनयापनसँग समेत जोडिएका परियोजनाको काम रोकिँदा सरकारको पुँजीगत खर्च हुन नसकेको र त्यसबाट जनताले पाउनुपर्ने सुविधाबाट वञ्चित भइरहेको पनि महासंघको भनाइ छ ।

गत आर्थिक वर्षमा करिब ६१ प्रतिशत मात्रै पुँजीगत खर्च भएकामा यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि सकारात्मक सन्देश जान नसकेको विज्ञप्तिमा उल्लेख छ । निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहँदा अर्थतन्त्र मन्दीमा गएको र यसबाट बैंक तथा वित्तीय संस्था, सिमेन्ट, छडजस्ता निर्माण सामग्री उत्पादक र सरकारको राजस्वमा पनि गम्भीर असर परेको महासंघको भनाइ छ ।

‘अहिले राजस्व १३ प्रतिशतले घटेको छ भने उद्योग करिब ३० देखि ३५ प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् । अतः विभिन्न माग राखी आन्दोलित निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकारसमक्ष आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।