झ्याप्प झ्याप्प किन जान्छ बिजुली ? प्राधिकरण भन्छ- उत्पादनअनुसार खपत भएन

झ्याप्प झ्याप्प किन जान्छ बिजुली ? प्राधिकरण भन्छ- उत्पादनअनुसार खपत भएन


पाेखरा ।

प्रत्येक दिन पटक-पटक विद्युत् अवरुद्ध हुँदा समस्या पर्ने गरेको भन्दै होटल संघ पोखराले आज नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीको ध्यानाकर्षण गराएको छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले प्राधिकरणका प्रादेशिक प्रमुख जगदीशचन्द्र जोशीलाई समयसमयमा विद्युत् अवरुद्ध हुँदा हुने समस्याबारे जानकारी गराउँदै ध्यानाकर्षण पत्र बुझाइएको हो ।

विद्युत् अवरुद्ध हुँदा होटल क्षेत्रका साथै आम सर्वसाधारण मर्कामा परेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

विद्युत् अवरुद्ध हुँदा पर्यटकलाई सेवा उपलब्ध गराउन कठिनाइ हुँदै आएको उनले जानकारी दिए । संघका महासचिव राजेन्द्र ढकालले पैसा तिरेर पनि उपभोक्ताले सहज रूपमा विद्युत् पाउन नसक्दा सर्वसाधारण मारमा परेको बताए ।

संघकी सचिव पार्वता पाण्डे, निवर्तमान अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठलगायतले समय-समयमा विद्युत् कटौती हुँदा होटलसहित पर्यटन क्षेत्रले ठुलो समस्या भोग्दै आएको बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै प्राधिकरणका प्रादेशिक कार्यालयका प्रमुख जोशीले खपतभन्दा धेरै विद्युत् उत्पादन भएका कारण अहिलेको समस्या उत्पन्न भएको बताए । उत्पादन धेरै तर खपत कम हुँदा ट्रिप भएर विद्युत् अवरुद्ध हुने गरेको उनको दाबी छ ।