‘एक वडा, एक पोखरी’ कार्यक्रम : हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण

‘एक वडा, एक पोखरी’ कार्यक्रम : हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण


भोजपुर ।

हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

वातावरणीय अनुकूलता कायम राख्न साविका ५४ वटा वडामा एउटा पोखरी निर्माणको थालनी गरिएको छ । जलवायु परिवर्तनका कारण देखिएका समस्याको न्यूनीकरण गर्दै जलाधारको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । यो कार्यक्रमअन्तर्गत प्रत्येक आर्थिक वर्षमा पोखरी खन्ने काम भइरहेको उनको भनाइ छ ।

यो कार्यक्रमअन्तर्गत हालसम्म ३० वटा बढी सार्वजनिक पोखरी निर्माणको काम सम्पन्न भएको छ । कार्यक्रमले तत्काललाई भन्दा पनि भविष्यका लागि ठूलो लाभ पुग्ने अध्यक्ष राईको भनाइ छ ।

पोखरी निर्माणले पानीको मुहान रिचार्जिङ हुने, सिँचाइमा सहजतासँगै आकस्मिकरुपमा हुने आगलागीको समयमा प्रयोग गर्न सकिने छ । यस्ता सार्वजनिक पोखरीलाई सयौँको सङ्ख्यामा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । यसअघि खनिएका पोखरी आसपासका पानीको मुहानमा सुक्खा खडेरीमा पनि पानी नसुकेको राईले बताए ।

पानीको अभावमा सिँचाइका लागि झेल्नुपर्ने समस्या कम गर्दै पानीको मुहानको संरक्षण गर्ने लक्ष्यले कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए। यो कार्यक्रमअन्तर्गत गत आवमा ९ वटा पोखरी निर्माण सम्पन्न भएको छ । एउटा पोखरी निर्माणको लागि १ लाख दिने गरेको छ ।

पोखरीले तत्कालीनरुपमा पानीको अभाव हटाउने र प्राकृतिकरुपमा उम्रिएका मुहानको रिचार्जिङमा सहयोग पुग्ने छ ।

पोखरी निर्माणले स्थानीयलाई तरकारी बाली तथा खेतीपाती गर्नको लागि सहजता भएको छ। मानवीय क्रियाकपालपसँगै भूकम्पलगायत प्राकृतिक विपत्तिका कारण धेरै पानीको मुहान सुक्दै गएको अवस्थामा पोखरी निर्माणको कार्यक्रमले संरक्षणमा टेवा पुगेको छ ।