रसुवामा १२ वटा कुलो निर्माण, ३८० हेक्टर जमिनमा सिँचाइले उत्पादन बढायो

 रसुवामा १२ वटा कुलो निर्माण, ३८० हेक्टर जमिनमा सिँचाइले उत्पादन बढायो


रसुवा ।

क्रमिकरूपमा कुलो निर्माणबाट रसुवामा भएको सिँचाइको व्यवस्थाले कृषि उपज बढ्न थालेको छ । 

सिँचाइ डिभिजन कार्यालयले किसानको माग र टट्कारो आवश्यकता अनुसार गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण र १० वटा भइराखेको सिँचाइ  कुलो मर्मत भएसँगै उर्वर भूमिमा पानीको आपूर्तिले कृषिउपज बढ्न थालेको हो ।

समय समयमा पानी नपर्दा कोदो खेतीसमेत बिग्रने जिवजिवेको भदौरे पाखामा सिँचाइको व्यवस्थाले अहिले धानसमेत फल्न थालेको छ । विगत वर्षदेखि पाखोबारीमा खेत बनाएर धान रोप्ने काम अगाडि बढिसकेको भदौरे क्षेत्रका किसानले बताएका छन् ।

सिँचाइ  डिभिजन प्रमुख इञ्जिनियर गोविन्द्रप्रसाद भुर्तेलका अनुसार जिल्लामा गत वर्ष कूल ३ सय ८० हेक्टर जमिनमा सिँचाइको सुविधा पुर्‍याई सकिएको र निर्माणका चरणमा अगाडि बढिरहेका क्रमागत केही सिँचाइ योजना भने चालु आर्थिक वर्षमा सम्पन्न हुनेछन् ।

संघीय एवं प्रदेश सरकारको अनुदानबाट सिँचाइ कुलो निर्माण र मर्मतका साथै जिल्लाका विभिन्न भागमा १७ वटा नदी नियन्त्रणका काम सम्पन्न गरिएको बताइएको छ । 

सिँचाइ कुलो निर्माण, मर्मत तथा नदी नियन्त्रणलगायत कार्यसम्पन्न गर्न गत आर्थिक वर्षमा कूल १३ करोड ५ लाख खर्च भएको छ  ।

यसरी निर्माण गरिएका सिँचाइमा ठूला तथा मझौलासमेत रहेका छन् । उपभोक्ता समितिले जिम्मा पाएको प्रायः सिँचाइ योजना निर्माण सम्पन्न भइसकेका र टेन्डर गरिएका काम भने विविध कारणले अगाडि बढ्न नसकेको प्राविधिकले बताएका छन् ।

यस्तै जिल्लाको दक्षिणी भेगस्थित कालिका गाउँपालिका क्षेत्रभित्र अवस्थित जिवजिवेको आसपासमा पर्ने भदौरे गाउँ क्षेत्रमा निर्माण गरिएको नमुना थोपा सिँचाइले भने ३ सय ५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

पाखोबारीलाई खेतमा रूपान्तरण गर्दै वर्षा याममा सौरेनी मूलको पानीबाट धान रोपाइँ गराउने र धाराबाट खेर जाने पानीलाई ट्यांकीमा संकलन गरी हिउँद याममा तरकारी उत्पादन गराउने व्यवस्थापन गरिएको छ।

वर्षायामको धान खेतीका लागि ६० हजार क्षमताको २ र ३० हजार क्षमताको एउटा  एवं हिउँद याममा धाराबाट खेर जाने पानी संकलनका लागि ५० वटा सिमेन्टका ट्यांकी निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष तारानाथ पौडेल उल्लेख गर्छन् ।

पानीको स्रोत नहुँदा बाँझो रहने जमिनलाई थोपा सिँचाइको अवधारणा अनुसार विसं २०७४ बाट क्रमिकरूपले निर्माण भएको भदौरे नामक थोपा सिँचाइ योजनाबाट ३ सय ५० घर परिवार लाभान्वित भएको बताइएको छ ।