धानबाली डुबानमा परेपछि स्थानीयद्वारा वडा कार्यालय घेराउ 

धानबाली डुबानमा परेपछि स्थानीयद्वारा वडा कार्यालय घेराउ 


बर्दिया ।

बर्दियाको राजापुर नगरपालिका–७ का स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् । 

आफूहरूको धानबाली डुबानमा पर्दासमेत सरकारले त्यसको रोकथामका लागि कुनै प्रयास नगरेको आरोप लगाउँदै उनीहरूले वडा कार्यालय घेराउ गरेका हुन् । 

स्थानीयले घेराउपछि उनीहरूले वडा कार्यालयमा तालासमेत लगाएका छन् । १०/१२ बर्ष अघिबाट चलन चल्तीको झरना प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत बन्द गरिएकाले सो क्षेत्रमा २ सय बिगाहा बढी धानबाली डुबानमा परेको स्थानीयको गुनासो छ ।

बर्खा याममा डुबान पर्ने भन्दै यस अघि समस्या समाधानका लागि न्यायिक समितिमा उजुरी दिँदा समेत कुनै सुनुवाइ नभएको स्थानीय नरजंग शाहीले बताएका छन् । 

वडा अध्यक्षले समस्या समाधान गर्छु भने आश्वासन मात्रै दिएको र कुनै पहल नगरेकाले आफूहरू बाध्य भएर वडा कार्यालय घेराउ गर्न आएको शाहीको भनाई छ। 

यस्तै, स्थानीय सुरेन्द्र चौधरीले मागहरू सुनवाई नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । स्थानीयहरुले वडा कार्यालय घेराउ गरेपनि वडा अध्यक्षले आफू वडा कार्यालय आउन नसक्ने भन्दै पन्छिएको आरोप लगाएका छन् ।

यता वडाध्यक्ष रामु थारुले न्यायिक समितिले समस्या समाधान गर्ने भनेर खवर आएको र न्यायिक समितिमार्फत समस्या समाधान गरिने बताएका छन् ।