गलैँचा, कार्पेट, अम्रिसो निर्यात बढ्यो

गलैँचा, कार्पेट, अम्रिसो निर्यात बढ्यो


काठमाडौं । 

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे १४ अर्बभन्दा बढी छ । 

अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । 

सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ ।

यद्यपि नेपालले केही यस्तो वस्तुहरु छन् जसको निर्यातबाट राम्रो आम्दानी गरिरहेको छ । जसमध्ये गलैँचा, अम्रिसो, कुकुर तथा बिरालाको खाना, यार्सागुम्बा पनि पर्छन् । जसको निर्यातबाट गत आवमा मुलुकले २४ अर्बभन्दा बढी आम्दानी गरेको छ ।

भन्सार विभागको तथ्यांकनुसार पछिल्लो ५ वर्षमा नेपालबाट  ४१ अर्ब बढीको कार्पेट (गलैँचा) निर्यात भएको छ । गत आवमा २०७९/८० मा  ११ अर्ब ५० करोड ६६ लाख २३ हजारको गलैँचा निर्यात भएको विभागको भनाइ छ । 

यहाँ उत्पादन हुने गलैँचा अमेरिका, जर्मनी, बेलायतलगायतका मुलुकमा निर्यात हुन्छ । ऊन तथा जनावरका रौबाट बनेका यस्ता गलैँचाको माग विशेष गरी अमेरिका तथा यूरोप नै हो । गत आवमा अमेरिकामा मात्रै रु सात अर्ब १८ करोड २५ लाख ६७ हजार बराबरको गलैँचा निर्यात भएको छ । 

साथै जर्मनीमा ८८ करोड ७० लाख २२ हजार, बेलायतमा ७८ करोड ७५ लाख ७६ हजार, इटालीमा ६१ करोड ४६ लाख ६२ हजार मूल्य बराबरको गलैँचा निर्यात भएको छ । साथै गत आवमा फ्रान्समा ३४ करोड २५ लाख ९२ हजार बराबरको गलैँचा निर्यात भएको छ । 

भन्सार विभागका अनुसार अघिल्लो आवमा कूल ९ अर्ब ५६ करोड ७७ लाख ३० हजार मूल्य बराबरको गलैँचा निर्यात भएको छ । त्यस्तै आव २०७७/७८ मा ७ अर्ब २४ करोड ४० लाख ५० हजार, आव २०७६/७७ मा ६ अर्ब १५ करोड ७७ लाख ६ हजारको तथा आव २०७५/७६मा ७ अर्ब ३६ करोड ९६ लाख ९५ हजारको गलैँचा विभिन्न देशमा निर्यात भएको छ । 

कुकुर तथा बिरालाको खानाको निर्यात बढ्दो 
पछिल्लो केही वर्षयता नेपालबाट निर्यात हुने वस्तुमा कुकुर तथा बिरालाको खानासमेत पर्दै गएको छ । विगत ५ वर्षमा मात्रै मुलुकबाट १० अर्बको यस्ता वस्तु निर्यात भएको विवरण भन्सार विभागले सार्वजनिक गरेको छ । 

गत आवमा मात्रै ३ अर्ब ४० करोड ९० लाख ७३ हजार मूल्य बराबरको यस्ता वस्तु मुलुकबाट बाहिरिएको विभागले सार्वजनिक विवरणमा उल्लेख छ । गत आवमा २ अर्ब ९६ करोड ७६ लाखका यस्ता वस्तु अमेरिका निर्यात भएको थियो । त्यस्तै  २९ करोड ४२ लाख ३५ हजारको क्यानडा, ३ करोड ९३ लाख ५६ हजार बराबरको जापान निर्यात भएको सार्वजनिक विवरमा उल्लेख छ । 

नेपालले अघिल्लो आवमा २ अर्ब ९१ करोड १९ लाख ३९ हजारको कुकुर तथा बिरालाका लागि बनेका यस्ता खानेकुरा निर्यात गरेको छ । त्यस्तै आव २०७७/७८मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार, आव २०७६/७७ मा १ अर्ब २२ करोड ८३ लाख ५६ हजार तथा आव २०७५/७६ मा १ अर्ब ५ करोड २८ लाख ७६ हजारको यस्ता बस्तु मुलुकबाट निर्यात भएको विवरणमा उल्लेख छ । 

५ वर्षमा ३ अर्बको अम्रिसो निर्यात
नेपालबाट निर्यात हुने वस्तुमा अम्रिसो पनि पर्छ । विभागका अनुसार पछिल्लो ५ वर्षमा अम्रिसो निर्यातबाट ३ अर्ब ३३ करोड ६ लाख ९२ हजार आम्दानी भएको छ । गत आवमा १ अर्ब ८८ लाखको अम्रिसो भारत निर्यात भएको छ । नेपालबाट निर्यात हुने अम्रिसोको मुख्य गन्तव्य भारत हो । 

विभागको विवरणअनुसार अघिल्लो आवमा ६९ करोड ९८ लाख ६२ हजारको अम्रिसो नियात भएको छ । त्यस्तै आव २०७७/७८मा  ६५ करोड ८८ लाख १३ हजारको, आव २०७६/७७मा रु ५५ करोड ७४ लाख ७८ हजार तथा आव २०७५/७६ मा  ४० करोड ५७ लाख ३९ हजारको अम्रिसो मुलुकबाट निर्यात भएको छ ।