नेपालीले बेचे ८ अर्बको अलैँची र ४४ करोडको यार्सागुम्बा

नेपालीले बेचे ८ अर्बको अलैँची र ४४ करोडको यार्सागुम्बा


काठमाडौं ।

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे १४ अर्बभन्दा बढी छ ।

अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन ।

सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ ।

यद्यपि नेपालले केही यस्तो वस्तुहरु छन् जसको निर्यातबाट राम्रो आम्दानी गरिरहेको छ । जसमध्ये गलैचा, अलैची, अम्रिसो, कुकुर तथा विरालाको खाना, यार्सागुम्बा पनि पर्छन् । जसको निर्यातबाट गत आवमा मुलुकले २४ अर्बभन्दा बढी आम्दानी गरेको छ ।

भन्सार विभागको तथ्यांकनुसार १ वर्षमा ४४ करोडको यार्सागुम्बा निर्यात भएको छ ।

विभागका अनुसार गत आवमा ४४ करोड ३१ लाखको यार्सागुम्बा निर्यात भएको छ । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटी यार्चागुम्बाको निर्यात पछिल्ला ५ वर्ष यताकै उच्च हो ।

अघिल्लो आवमा ३० करोड ९२ लाख ३३ हजारको यार्चागुम्बा निर्यात भएको थियो । त्यस्तै आव २०७७/७८ मा १५ करोड ७६ लाख २५ हजारको, आव २०७६/७७ मा २० करोड २२ लाख ३५ हजारको तथा आव २०७५/७६मा १७ करोड ९४ लाख ८ हजारको यार्चागुम्बा निर्यात भएको छ । विभागका अनुसार नेपालबाट यार्चागुम्बा मुख्य निर्यात हुने मुलुकमा हङकङ, कम्बोडिया, मलेसिया, सिङ्गापुर, भियतनाम, अमेरिकालगायतका राष्ट्र पर्छन् ।

८ अर्बको अलैँची निर्यात
विभागका अनुसार गत आवमा ८ अर्बभन्दा बढीको अलैँची निर्यात भएको छ । मुलुकको वैदेशिक व्यापारमा अलैची निर्यातको मूख्य भूमिका छ । गत आवमा ८ अर्ब २७ करोड ६५ लाख ९७ हजार मूल्य बराबरको अलैँची मूलुकबाट निर्यात भएको छ । जुन अघिल्लो आवमा ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार थियो ।

विभागका अनुसार आव २०७७/७८ मा ७ अर्ब एक करोड ८ लाख २९ हजार, आव २०७६/७७ मा २ अर्ब ५३ करोड ९५ लाख ९५ हजार तथा आव २०७५/७६ मा २ अर्ब ७१ करोड ४९ लाख ४२ हजार बराबरको अलैँची निर्यात भएको छ । नेपालबाट भारत, पाकिस्तान, इटली तथा जर्मनीलगायत मूलुकमा अलैँची निर्यात हुने गरेको छ ।