दैनिक २ हजार सेवाग्राही रिझाउँदै २१ कर्मचारी

दैनिक २ हजार सेवाग्राही रिझाउँदै २१ कर्मचारी


कास्की ।

दैनिक सरदर २ हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) २१ कर्मचारीका भरमा चलेको छ ।

सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र कर्मचारी छन् ।

यातायात व्यवस्था कार्यालय कास्कीसहित बागलुङ, तनहुँ र नवपुलरमा पनि जनशक्ति अभाव देखिएको कार्यालयका प्रमुख जीतेन्द्रजङ्ग केसीले जानकारी दिए । सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको उनको भनाइ थियो ।

अस्थायी कर्मचारीको करार अवधि गत असार मसान्तमा सकिएपछि समस्या निम्तिएको केसीले बताए । उनका अनुसार करार सेवामा कर्मचारी नियुक्त गर्ने विषयमा प्रदेश सरकारले अहिलेसम्म निर्णय नगर्दा अन्योलता सिर्जना भएको छ ।

“एक त दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति हुन सकेको छैन, अर्कातर्फ अस्थायी कर्मचारीको पनि करार थप भएको छैन”, प्रमुख केसीले भने, “यही अवस्था रहिरहे सेवा प्रवाहमा समस्या आउन सक्छ ।” पटक–पटक माग गर्दा पनि प्रदेश सरकारले कर्मचारीको प्रबन्ध गर्न नसकेको उनले गुनासो गरे ।

थप ५÷६ जना खरिदार तथा सुब्बासरहका कर्मचारी र केही कार्यालय सहयोगी भए सेवा प्रवाहमा सहजता थपिने प्रमुख केसीले उल्लेख गरे । “हामीले धेरै माग गरेका छैनौँ, ५÷६ कर्मचारी सरुवा गरेर पठाइदिनुस् भनेका छौँ, तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन”, उनले भने ।

सवारीतर्फका कार्यालय प्रमुख डिल्ली रिजालले कर्मचारी अभावका कारण कार्यसम्पादन प्रभावकारी हुन नसकेको बताए । “यातायात कार्यालय सेवाग्राहीको चाप हुने ठाउँ हो, प्रदेश सरकारले यसतर्फ विशेष ध्यान दिएर कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्छ”, उनले भने, “अस्थायी÷करारमा कर्मचारी नियुक्त गर्ने विषयमा छिटो निर्णय गरेमा सहज हुने थियो ।”

प्रमुख रिजालका अनुसार यहाँ दैनिक ७ देखि ८ सय सेवाग्राही दैनिक आउने गरेका छन् । १ वर्षमा १ लाख ९० हजार बढीले सेवा लिएका कार्यालयले जनाएको छ । “चैत र असार मसान्तको समयमा दैनिक २ हजार ५ सयदेखि ३ हजारले सेवा दिएको तथ्यांक छ”, उनले भने ।

बागलुङस्थित यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले कर्मचारी अभावका कारण अतिरक्त समयमासमेत सेवा दिने गरिएको बताए । उनका अनुसार कार्यालयमा रहेका चार अस्थायी कर्मचारीको करार अवधि सकिएपछि नयाँ नियुक्ती हुन सकेको छैन । अहिले १९ जनाको दरबन्दी रहेकामा १२ कर्मचारी कार्यरत रहेका उनले जानकारी दिए ।

गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले यातायात कार्यालयमा कर्मचारी अभाव रहे पनि सेवा नरोकिएको बताए ।

प्रवक्ता पौडेलले मन्त्रालयअन्तर्गतका कार्यालय र निकायमा दरबन्दी अनुसार कर्मचारी पदपूर्तिका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार न्यून जनशक्ति हुँदा पनि कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र)ले बिहानी सेवा पनि दिइरहेको छ ।

राजस्व, बायोमेट्रिक, लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा बिहान ८ बजेदेखि सुरु हुने कार्यालयका सूचना अधिकारी भेषराज अधिकारीले जानकारी दिए । दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले बिहानैदेखि सेवा दिन थालेको उनको भनाइ थियो । उनका अनुसार करिब ३० प्रतिशत सेवाग्राहीले दस बजेअघि नै सेवा लिइसक्छन् । घण्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ ।