तस्करी गरी ल्याइएको ७ करोडको सामान भन्सारको जिम्मा 

तस्करी गरी ल्याइएको ७ करोडको सामान भन्सारको जिम्मा 


महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको ७ करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ । 

गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो । 

भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं गण कार्यालयले जनाएको छ । 

सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आव २०७९/८० मा भारतसँग सीमा जोडिएका जिल्लाको करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट  भन्सार छलेर ल्याउन लागिएको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाएको हो । 

भन्सार छलीका सामानमा सबैभन्दा बढी सवारीसाधन रहेका छन् । बरामद गरी भन्सारलाई बुझाइएका २ सय २० सवारीसाधन ३ करोड ४३ लाख मूल्यबराबरका रहेका छन् । 

यसैगरी २३ लाख ८२ हजारको पशुचौपाया तथा ३ करोड २३ लाख मूल्यबराबरका अन्य सामान बरामद गरी भन्सार दाखिला गरिएको एसपी खनालले जानकारी दिए । 

बरामद गरिएका अन्यमा १ करोड ९ लाख मूल्यबराबरका किराना र कस्मेटिक सामग्री, ९१ लाख ६० हजारका कपडा, २८ लाख ३० हजारका चौँरी गाईका पुच्छर, २५ लाख ६३ हजारका इलेक्ट्रोनिक्स सामानलगायत छन् ।