खानेपानी : ९४ नमूना परीक्षण गर्दा ४१ वटामा ‘कोलीफर्म’

खानेपानी : ९४ नमूना परीक्षण गर्दा ४१ वटामा ‘कोलीफर्म’


स्याङ्जा ।

स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ ।

जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धारा शर्माका अनुसार जिल्लाका ११ स्थानीय तहबाट खानेपानीका ९४ नमूना सङंकलन गरी परीक्षण गरिएको थियो ।

परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटिएको हो । कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३, चापाकोट, वालिङ, आधीखोलामा ८–८, बिरुवा र गल्याङमा ६–६, अर्जुनचौपारीमा ५, फेदीखोला र हरिनासमा ४–४खानेपानीका नमूना संकलन गरी परीक्षण गरेको थियो ।

“मुहान, ट्यांकी, धारा र घरबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा हुने कोलीफर्मको कीटाणु अत्यधिक मात्रा पाइएको छ”, प्रमुख शर्माले भनिन्, “सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराबाट समेत पानीका नमूना परीक्षण गरिएका थिए ।”

सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६.६ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१.२५ प्रतिशत कोलीफर्म भेटिएको छ । चापाकोट नगरपालिकामा ६२.६, फेदीखोला र हरिनास गाउँपालिकामा ५०.५०, भिरकोट नगरपालिकामा ४६.१, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलीफर्म भेटिएको प्रमुख शर्माले बताइन् । यस्तै गल्याङ नगरपालिकामा ३८ र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा ३७.५ प्रतिशत कोलीफर्मका कीटाणु भेटिएका थिए ।

प्रमुख शर्माले गत वर्षको तुलनामा यस वर्ष पानीको शुद्धतामा केही प्रतिशत वृद्धि भएको बताइन् । उनले पानीको शुद्धता बढे पनि अत्यधिक कोलीर्फम भेटिनु सुखद् नतिजा नभएको उल्लेख गरिन्। गत आर्थिक वर्षमा जिल्लाका सबै पालिकाबाट खानेपानीको ५२ नमूना परीक्षण गरिएकामा ५२ प्रतिशत कोलीफर्म भेटिएको थियो । कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइडजस्ता सरुवा रोग लाग्नुका साथै मिर्गौलालाई पनि असर गर्छ ।