विजुली नपुगेका ८० परिवारलाई नगरप्रमुख कोषबाट सोलार वितरण

विजुली नपुगेका ८० परिवारलाई नगरप्रमुख कोषबाट सोलार वितरण


बागलुङ ।

ढोरपाटन नगरपालिकाले विद्युत्को पहुँचभन्दा टाढा रहेका गाउँमा सोलार बत्ती वितरण गरेको छ । जिल्लाकै सबैभन्दा दुर्गम गाउँ मानिने ढोरपाटन –९ छ्यान्तुङमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन ।

बागलुङको ढोरपाटन–९ छ्यान्तुङ र वडा नं ६ लामखोरियालगायत थुप्रै गाउँका स्थानीय अहिले पनि टुकी र दियालोको भरमा रात बिताउँछन् । भौगोलिक विकटताका कारण यहाँ स्थानीय जलविद्युत् तथा केन्द्रीय लाइनको पहुँच पुग्न सकेको छैन । वर्षौँदेखि अन्धकारमा बस्दै आएका स्थानीयलाई ढोरपाटन नगरपालिकाले सोलार बत्ती वितरण गरेको छ । सोलार बत्ती पाएपछि स्थानीयमा खुसी छाएको छ ।

नगरपालिकाले हालसम्म पनि विद्युत्को पहुँच नपुगेका दुर्गम गाउँ छ्यान्तुङ र लामखोरियाका ८० परिवारलाई सोलार वितरण गरिएको नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले बताए । नगरप्रमुखको कोषबाट विपन्न परिवारलाई राहतस्वरुप सोलार वितरण गरिएको उनले बताए ।

ढोरपाटन नगरपालिकाको दुर्गम क्षेत्र अझैसम्म पनि विद्युत नभएर अँध्यारोमा जीविका चलाउँदै आएका विपन्न परिवारको समस्यालाई ध्यानमा राखी सोलार बत्ती वितरण गरिएको हो ।

विद्युतकै कारण सहज सञ्चारको पहुँचबाटसमेत टाढा रहेका स्थानीयको समस्या समाधान गर्न केन्द्रीय प्रसारण लाइन विस्तारको कामसमेत हुन थालेको छ ।

“अहिले तत्कालको समस्या समाधानका लागि सोलार बत्ती वितरण गर्यौँ, अब छिट्टै यो ठाउँमा केन्द्रीय प्रसारण लाइन ल्याउनका लागि पहल गर्छौँ, ढोरपाटनमा केन्द्रीय लाइन ल्याउने काम हुन थालेको छ, त्यहाँ आउनासाथ यी गाउँमा जडान गर्ने छौँ ।” नगरप्रमुख कायतलले भने ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले छ्यान्तुङ, लामखोरियालगायत अहिलेसम्म विद्युत्को पहुँच नपुगेका स्थानमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । आगामी २ वर्षभित्रसम्म जिल्लाका सबै स्थानमा केन्द्रीय लाइन पुर्याउने गरी काम गरिरहेको प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जानकारी दिए । ढोरपाटनमा केन्द्रीय लाइन विस्तारका लागि काम सुरु भइरहेको उनको भनाइ छ ।