माननीयहरुको उपचार गर्न नेपालमै विशेषज्ञ डाक्टरहरूको टिम तयार : मन्त्री बस्नेत

माननीयहरुको उपचार गर्न नेपालमै विशेषज्ञ डाक्टरहरूको टिम तयार : मन्त्री बस्नेत


काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भीआईपी र भीभीआईपीहरुको उपचार नेपालमै गर्नको लागि विशेषज्ञ डाक्टरहरुको टिम तयार गरेको बताएका छन् । 

आज मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले भीआईपी र भीभीआईपीहरुको उपचार नेपालमा गर्नाले जनताको माग पूरा हुने, र देशको सम्पत्ति बाहिर नजाने भन्दै चिकित्साकहरुको टिम बनाउने बताए । 

उनले भने, भीआईपी र भीभीआईपीहरुको उपचारको नेपालमा नै गर्नुपर्छ, नेपालमा भएका विशेषज्ञहरुबाट जुन उपचारको लागि माननीयहरु बाहिर जानु भएको छ त्यो उपचार नेपालमा नै हुन सक्छ । 

यसकारण विशेषज्ञ डाक्टरहरुको टिम तयार गरौं र वीर अस्पतालमा यसको सेवा सुरु गरौं । यहाँ हुदाँ हुदैँ पनि कोही बाहिर जान चहानु भयो भने उहाँहरु आफ्नो स्वखर्चमा जानु हुन्छ । यसबाट जनताको माग पूरा हुने, देशको सम्पत्ति बच्ने हुन्छ र नेपाली चिकित्साकहरुप्रति विश्वास पनि बढ्छ । अब नेपाली स्रोत र साधनबाट उपचारका लागि आवश्यक सबै उपकरणहरु उपलब्ध छ । ’ 

मन्त्री बस्नेतले उक्त स्वास्थ्यकर्मीहरुको टिमले नेपालको स्वास्थ्य क्षेत्रमाथि विश्वास बढाउनुको साथै भएको जनशक्तिले बाहिरको नागरिकलाई पनि उपचारको लागि नेपालमा ल्याउँन सक्ने बताए । 

यसको साथै वीर अस्पतालमा ८ बजेदेखि ओपीडी सेवा सुरु गर्दा सेवा राम्रो भएको र सरकारी अस्पतालमा बिरामीको संख्या बढ्दै गएको पनि उनको भनाई छ ।