प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण गर्नपर्यो ? अब अनलाइनबाटै हुन्छ

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण गर्नपर्यो ? अब अनलाइनबाटै हुन्छ


काठमाडौं ।

प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गरे ।

सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ ।

अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि सोही कामका लागि दैनिक करिब १ हजार ५०० जना विभाग पुग्ने गरेका थिए ।

सो अवसरमा मन्त्री साउदले यो सेवा सार्वजनिक सेवा प्रवाह प्रभावकारीरुपमा प्रदान गर्ने योजनामा कोशेढुंगा सावित भएको बताउँदै मन्त्रालयका अन्य सेवालाई पनि नयाँ प्रविधिको सदुपयोग गरी अनलाइन माध्यमबाटै प्रदान गरिने जानकारी दिए ।

यसबाट जनताले खेप्नुपर्ने हैरानीको अन्त्य हुने र खर्चको समेत बचत हुने बताउँदै उनले दुर्गममा बसेर पनि राज्यले प्रदान गर्ने सेवा सहजै प्राप्त हुने उल्लेख गरे ।