गौरीकुण्ड पहिरोमा परि बेपत्ता भएका ११ जना नेपालीको पहिचान खुल्यो

गौरीकुण्ड पहिरोमा परि बेपत्ता भएका ११ जना नेपालीको पहिचान खुल्यो


काठमाडौं ।

भारतको उत्तराखण्डस्थित केदारनाथको गौरीकुण्डमा गएको पहिरोमा एउटै परिवारका ७ सहित जुम्लाका ११ जनाको पहिचान खुलेको छ ।

पहिरोमा बेपत्ता भएका पातारासी गाउँपालिका वडा नम्बर ३ चौरगाउँका एकै परिवारका ७ सहित ११ जनाको परिचय खुलेको हो ।

पातारासी गाउँपालिका वडा नम्बर २ स्थित अस्थायी प्रहरी पोष्ट इन्चार्ज प्रहरी हवल्दार नारायण थापाका अनुसार जुम्लाको पातारासी गाउँपालिका २ पेरे गाउँका ३० वर्षीय अमर बोहरा र उनकी श्रीमती २९ वर्षीया अनितासहित ३ छोरी र २ छोरा ,११, ९ र ७ वर्षीया छोरीहरू सलिता, पिंकी, प्रीतिसँगै ४ र २ वर्षीय छोरा जटिल र ओकिल गरेर ७ जना बेपत्ता भएका हुन् ।

बेपत्ता भएका अन्य व्यक्तिमा सोही गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी, पातारासी ३ का ३८ वर्षीया बम बोहरा र ४६ वर्षीय सुकराम रावत रहेका छन् । उनीहरू बेपत्ता भएको जानकारी पहिरो प्रभावित क्षेत्रमा रहेका चन्द्र बुढा, फुलमाया बुढा, प्रकाश कामी, शुक कामी, निरु रावत, खर्क बोहरालगायतले टेलिफोनमा दिएको प्रहरीले बताएको छ ।

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार घटना भएको थाहा पाएपछि बेपत्ता परिवारको पहिचानका लागि काम भइरहेको बताए ।