जारको पानीमा गम्भीर लापरबाही भेटियो : मेयर बालेन

जारको पानीमा गम्भीर लापरबाही भेटियो : मेयर बालेन


काठमाडौं ।

पिउनका लागि प्रयोग गरिने जारको पानीमा गम्भीर लापरबाही भेटिएको छ।

काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले आइतबार गरेको अनुगमनका क्रममा जारको पिउने पानीमा लेबल उल्लेख नगरिएको, कुच्चिएका जार प्रयोग गरिएका, जारभित्र फोहोर पानी रहेकोलगायत लापरबाही भेटिएको हो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जारको पानीमा गम्भीर लापरबाही भेटिएको बताएका छन्। ‘व्यावसायिक रूपमा पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले जारमा भरेर वितरण गर्ने पानीको गुणस्तरमा ध्यान नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ बालेनले फेसबुकमा भनेका छन्, ‘बर्खा याममा पानीजन्य रोग लागेर बिरामी हुने व्यक्तिको संख्या उल्लेख्य हुने गरेको छ। वितरण प्रणालीबाट आएको पानीमाभन्दा जारको पानीमा विश्वास गरेर सहरबासीले जारको पानी किनेर पिउने तथा दैनिक व्यवहारमा प्रयोग गर्ने गरेका छन्। शुद्धताका लागि पैसा तिरेर किनेको पानीको जारमा लेबल नहुनु, उत्पादन मिति उल्लेख नहुनु, जार फोहोर र कुच्चिएको हुनु यसभित्रको पानीको गुणस्तरमा शंका गर्नुपर्ने भएको छ।’

महानगरपालिकाको कृषि तथा खाद्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहित सरोकारवाला निकायले गरेको अनुगमनका क्रममा जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि पाएको बालेनले उल्लेख गरेका छन्। ‘यसको गुणस्तर परीक्षणपछि यसको स्तरका विषयमा भन्न प्रयोगसिद्ध आधार हुने भएकोले परीक्षणका लागि प्रयोगशालामा पठाएका छौँ,’ बालेनले भनेका छन्, ‘यसबाट प्राप्त नतिजाका आधारमा जारको पानी व्यवसायप्रतिको दृष्टिकोण निर्माण हुनेछ।’

उपभोक्तालाई पानीको शुद्धता यकिन गरेरमात्रै जारको पानी खरिद गर्न, जार किन्दा उत्पादक, जारको सिलजस्ता गुणस्तर मापन गरिने पक्ष हेरेर ‍खरिद गर्न बालेनले अनुरोध गरेका छन्।