वडावडामा घुम्ती सेवा सञ्चालन गर्दै मंगलसेन नगरपालिका

वडावडामा घुम्ती सेवा सञ्चालन गर्दै मंगलसेन नगरपालिका


अछाम ।

मंगलसेन नगरपालिकाले नागरिकलाई उनीहरूको घरदैलोमै आफ्नो सेवा प्रवाह गर्न सुरुआत गरेको छ ।

नगरपालिकाका विभिन्न शाखाबाट प्रवाह हुने सेवा स्थानीयलाई सहज होस् भन्दै नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी सेवा प्रवाह सञ्चालन गरिराखेको हो ।

घरआँगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुआत गरेको मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताए । नगरपालिकाले यही साउन ५ बाट एकीकृत घुम्ती शिविर नगरको वडा नम्बर १ र २ बाट सुरुआत गरेको थियो ।

हालसम्म ११ वडामा घुम्ती शिविर सम्पन्न भएको र बाँकी रहेका तीन वटा वडा नम्बर ३, ४ र ५ मा पनि लगत्तै घुम्ती शिविर सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।

शिविरमा नगरपालिकाका सबै शाखाबाट हुने सेवा प्रवाह गरेको थियो । एकीकृत घुम्ती शिविरमा नगरले शाखा स्थापना गरी वडाका सेवाग्राहीलाई सेवा प्रदान गरेको हो । सामाजिक सुरक्षा लाभग्राहीको हालसम्म नवीकरणअन्तर्गत ६८ वर्ष बढी उमेर पुगेका नागरिक १ हजार ३ सय ५७ , ज्येष्ठ दलित २ सय ८३ , ज्येष्ठ एकल एक सय ६० , विधवा ४ सय १ , पूर्ण अपाङ्ग (क) वर्ग ८ , (ख) वर्ग अपांग ३७ , बालबालिका क्षेत्र तोकिएका ९ सय ३६ बालबालिका दलित ३ सय ७३ जनाले नवीकरण गरेका छन् भने ९१ नयाँ दर्ता भएका छन् । गत वर्षको अन्तिम त्रैमासिकमा लाभग्राही संख्या ५हजार ९ सय ८४ जना कायम भएको प्राविधिक होमबहादुर साउदले बताउनुभयो ।

त्यस्तै एकीकृत सम्पत्ति कर (मालपोत) बुझाउने तथा व्यापार व्यवसाय दर्ता ११ वडामा एक हजार एक सय सात जनाले गरेका छन् । यसमा २ लाख ३७ हजार सात सय ८४ राजस्व संकलन गरिएको छ ।

मंगलसेन नगरबासीको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविर माफर्त कार्यक्रम अघि सारिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकासम्म जानुपर्ने बाध्यतालाई हटाएर आफूले आफ्नो घर आँगनमै सेवा पाउँदा खुशी महसुस भएको मंगलसेन–६ का गंगाराम भण्डारीले बताए । नगरपालिकाले सञ्चालन गरेको घुम्ती सेवा शिविरले नगरपालिकाबाट टाढा रहेको वडा नम्बर १३ बस्तीको बाँडा, डाँडीगडे, कालागाँका नागरिकले गाउँमै सेवा पाएपछि उनीहरु खुसी भएका छन् ।