माटोमा सुन फलाउँदै पूर्व सैनिक

माटोमा सुन फलाउँदै पूर्व सैनिक


रामेछाप ।

अहिले देशमा अवैध सुन तस्करीको चर्चा छ । अवैध रूपमा सुन तस्करी गर्नेको भागाभाग छ । सरकार उनीहरूको खोजीमा छ ।

रामेछापका एक किसान भने वैध रूपमा माटोमा सुन फलाउँदै छन् । उनी आफ्नै कर्ममा रमाउँदै छन् । माटोमा सम्भावना खोज्दै छन उनी ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ ओख्रेनीका किसान श्याम थापा मगर पेसाले पूर्व सैनिक हो । उनलाई नपुग्दो पनि केही छैन । सेनाको जागिरको कमाई अनि नियमित आउने पेन्सनबाट घर धान्न कुनै गाह्रो छैन ।

तर उहाँ गाउँमा नै केही गरौँ, माटोमा भविष्य छ, माटोमा नै सुन फलाउन सकिन्छ भनेर कृषि कर्ममा समर्पित छन् । त्यही कर्मले उनलाई नमुना किसान बनाएको छ र राष्ट्रिय सम्मान दिलाएको छ ।

२०६५ सालमा सेनाको जागिर छाडेपछि श्यामले थालेको कृषि कर्म अहिले ठूलो फार्मको रूपमा विकास भएको छ । त्यही फार्मले उनलाई नमुना किसान बनाएको छ ।

जागिर छाडेर काठमाडौंबाट घर फर्कँदा केही फलफूलका बिरुवा पनि लिएर घर फर्कनु भएका श्याम लगातार त्यसैमा लागे । जसले गर्दा कोदो फल्ने बारी फलफूल बगैँचा बन्यो । त्यति बेला काठमाडौंका कर्मा वाङ्छु लामाको फर्मबाट उनले किवी, दाँते ओखर, कटुस लगायतका बिरुवा लिएर गाउँ फर्केका छन् र बारीमा लगाएका छन् ।

उनको बारीमा त्यस अघि पनि स्याउका केही बिरुवा लगाइएको थियो । उनी सेनाको जागिरमा भएकै बेला लगाइएका ती बिरुवाले राम्रो उत्पादन दिएन ।
श्यामको फलफूल बगैँचा अहिले १ सय रोपनी भन्दाबढी जमिनमा फैलिइसकेको छ । उनले भीमेश्वर फलफूल तथा नर्सरी उद्योग दर्ता गरेर व्यवसायीक रूपमा फलफूल तथा बिरुवा उत्पादन गरिरहेका छन् ।

उनको बगैँचा किवी, कटुस, ओखर, एभोकार्डो, हलुवाबेद, आलमन, आरु, नास्पातीका रुखले ढाकेको छ । केही बिरुवा फल्दैछन्, केही हुर्कँदैछन् ।
अहिले उनको बगैँचामा फल दिने ७ सय बोट किवी छन् । एउटा बोटमा ५० केजी भन्दाबढी किवी उत्पादन हुन्छ । उत्पादित किवी ३ सय रुपैँया केजीका दरले बिक्री हुन्छ ।

अहिले ७ सय बोट कटुस फल दिने भएका छन् । यसै गरी १ सय भन्दाबढी एभोकार्डोका बोटले उत्पादन दिन लागेका छन् । जापनिज हलुवाबेद २ सय बोट फल्न लागेका छन् ।

दाँते ओखर ४ सय बोटले उत्पादन दिइरहेका छन् । यस बाहेक आलमन, मैकाडोमिया नट्स, जापनिज नास्पाती, उन्नत जातको आरु, विभिन्न जातका फलफूलले उत्पादन दिइरहेका छन् ।

उनको बारीमा पाउलोनिया लगायतका २ सय भन्दाबढी काठका बिरुवा पनि हुर्की रहेका छन् ।

उनको बगैँचामा किवी, हलुवाबेद, आरु, कटुस, एभोकार्डो लगायतका बिरुवा पनि उत्पादन हुन्छ । जसबाट उनले राम्रो आम्दानी गरेका छन् ।
फलफूल बेचेरै श्यामले वार्षिक २० लाख बढी आम्दानी गर्छन । यस बाहेक बिरुवा बेचेर पनि राम्रो आम्दानी गरिरहेका छन् ।

उनले फलफूल टिप्ने र गोडमेले गर्ने सिजन बाहेक सबै काम आफैँ भ्याएका छन् । उनलाई काममा उनकी श्रीमतीले पनि त्यतिकै साथ दिन्छिन । ‘कटिङ, ग्राफ्टिङ, लियरिङ, गोडमेल लगायतका काम हामी आफैँ गर्छौँ, कामको सिजनमा केही मान्छे लगाउनु पर्छ’, श्यामले भने ।