लुम्बिनीमा १ अर्ब भारुमा बन्ने बौद्ध बिहारको निर्माण सुरु

लुम्बिनीमा १ अर्ब भारुमा बन्ने बौद्ध बिहारको निर्माण सुरु


काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा लिइएको लुम्बिनीमा बन्न लागेको बुद्ध विहारको भूमि पूजा गरिएको छ ।

आइतबार रुपन्देहीस्थित लुम्बिनी गुरुयोजनास्थलको परिसरमा भूमिपूजा गरिएको विहार निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी प्रकाशकुमार श्रेष्ठले बताए । विहार फक्रिएको कमलको फूलको आकारमा निर्माण हुनेछ । बौद्ध धर्म गुरुहरूले भूमि पूजाका क्रममा विहारको जग खनेका छन् । भूमिपूजासँगै निर्माणको काम धमाधम अगाडि बढ्नेछ । विहारलाई १८ महिनाभित्र पूरा गर्नुपर्ने चुनौती छ ।

यसमा भारतको निर्माण कम्पनी एसिसि इन्डिया र नेपालको गोरखा बिल्डर्सले ज्वाइन्ट भेन्चरमा काम गर्न लागेका छन् । नेपाल पक्षको ठेकेदारमा प्रकाशकुमार श्रेष्ठ, प्रवीणराज शाक्य, ई.शिवहरि अर्याल छन् । लुम्बिनीमा भूमि पूजाको अनुष्ठानका साथै भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र विरासत केन्द्र (आईआईसीबीसीएच)को निर्माण औपचारिक रूपमा सुरु भएको छ ।

लुम्बिनी परिसरभित्र बौद्ध भिक्षुहरूको उपस्थितिमा गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा भूमि पूजा गरिएपछि कामको सुरुआत भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०२२ मा लुम्बिनीको यात्राका क्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग बौद्ध केन्द्रको निर्माणको आधारशिला राखेका थिए । आधारशिला राखेको १ वर्षपछि शून्य कार्बन उत्सर्जनको माध्यमबाट अत्याधुनिक संरचना निर्माणको कार्यको औपचारिक प्रक्रिया सुरु भएको छ ।

अन्तर्राष्ट्रिय बौद्ध परिसंघ (आइबिसी)का महासचिव डा. धम्मपियाले अन्य भिक्षुहरूसँग भूमि पूजामा भाग लिएका छन् । डा.धम्मपियाले भूमि पूजामा सरिक हुन पाउँदा निकै खुसी लागेको बताए । उनले भने, ‘हामी आज धेरै खुसी छौँ । नेपालको लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र विरासत केन्द्रको निर्माण सुरु हुन लागेको छ ।’

डा. धम्मपियाले भारत–नेपालबीचको आध्यात्मिक र सांस्कृतिक सम्बन्ध २६०० वर्षभन्दा पुरानो रहेकाे भन्दै भने, ‘ मुख्य केन्द्र नेपाल र भारतका नागरिकबीच भाइचारा, सदभाव र सह–अस्तित्वमा छ । हामी नेपाल सरकार र नेपालका नागरिक तथा नेपालका बौद्धका अनुयायीहरूप्रति छौँ । भारतलाई पनि गौतम बुद्ध जन्मिएको स्थानमा बौद्ध संस्कृति र विरासतका लागि अन्तर्राष्ट्रिय केन्द्र बनाउन दिनुभएको छ ।’

अन्तर्राष्ट्रिय बौद्ध परिसंघ, नयाँ दिल्ली आइबिसी र एलडिटीबीच मार्च २०२२ मा सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार लुम्बिनी विकास कोष (एलडिटी) द्वारा भारतद्वारा बनाउन लागिएको संरचनामा निर्माणको देखरेख गरिरहेको छ ।

‘भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र विरासत केन्द्र लुम्बिनीमा बनाउन लागिएको छ । भगवान बुद्धको जन्मस्थलमा छिटै एउटा केन्द्र प्राप्त हुन लागेको छ । जहाँ बुद्धसँग जोडिएका सबै जानकारी उपलब्ध हुनेछ । यो कार्यले दुई देशबीचको सम्बन्ध अझै मजबूत र गहिरो हुनेछ । बौद्ध संस्कृति र परम्पराको प्रचार र संरक्षणमा सक्रिय भूमिका खेल्नेछ’, आइबिसी कार्यसमिति सदस्य डुप्टेन जिगडोलले भनेका छन् ।

निर्माण हुन लागेको केन्द्रमा विश्वस्तरीय सुविधा हुनेछ । जसमा बौद्ध धर्मको आध्यात्मिक कुरामा आनन्द लिन दुनियाँभरिबाट आउने तीर्थयात्री र पर्यटकलाई स्वागत गर्नेछ । फक्रिएको कमलको फूलको आकारमा अत्याधुनिक भवन बन्नेछ । आधुनिक भवनमा ऊर्जा, पानी र अपशिष्ट प्रबन्धका विषयमा नेटजीरोको मापदण्ड अनुरूप हुनेछ । भवनमा प्रार्थना कक्ष, ध्यान केन्द्र, पुस्तकालय, प्रदर्शनी हल, कैफेटेरिया रहनेछ । भवनमा कार्यालय र अन्य सुविधा पनि हुनेछन् ।

लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष अवधेश त्रिपाठीले लुम्बिनी मास्टरप्लान क्षेत्रभित्र गौतम बुद्धको पवित्र जन्मस्थानमा बौद्ध संस्कृति र विरासतका लागि भारतले अन्तर्राष्ट्रिय केन्द्रको निर्माणको वास्तविक सुरुआत गर्न लागेको बताए । परियोजनाका लागि अन्तर्राष्ट्रिय बौद्ध परिसंघद्वारा भारत–नेपाल संयुक्त उद्यम कम्पनी एसिसी–गोरखालाई दिइएको छ । केन्द्रको निर्माणका लागि १ अर्ब भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।