पालिकाका कर्मचारीविरुद्ध डेढ कराेड भ्रष्टाचार मुद्दा

पालिकाका कर्मचारीविरुद्ध डेढ कराेड भ्रष्टाचार मुद्दा


काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृष्णनगर नगरपालिकाका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौँ तहका साकिर अहमदविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।

अहमदले सरकारी सेवा प्रवेश गरेको २०४८ माघ १५ देखि २०७८ असोज ३० सम्मको समग्र वैध आयतर्फ पारिश्रमिक आय, घरजग्गा बिक्री आय, विभिन्न भत्ता, कर्जाको आय, कृषि आय, विदेशबाट प्राप्त रेमिट्यान्स, सवारी साधन बिक्री, निर्माण सेवा आम्दानी र बैंक ब्याजबाट प्राप्त आयसमेत गरी जम्मा १ करोड १६ लाख ५३ हजार ९५७ रुपैयाँ र वैध आयको अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेका खर्च तथा लगानीतर्फ बैंकको ऋण चुक्ता, अध्ययन खर्च, कम्पनी लगानी, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, ऋण दिएको, पुँजीगत लाभकर, सेयर खरिद, सवारी साधन खरिद, विद्युतीय उपकरण खरिद र बैंक मौज्दातसमेत गरी २ करोड ७२ लाख ३३ हजार ६५२ रुपैयाँ खर्च तथा लगानी देखिन आएको अख्तियारको दाबी छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सो सिर्जित आयबाट निजको व्यय घटाउँदा १ करोड ५५ लाख ७९ हजार ६९५ रुपैयाँ बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुलेको छैन ।

वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकाे र मनासिव नदेखिने किसिमको अमिल्दो र अस्वभाविक जीवनयापन गरेको प्रमाणित हुन आएको प्रवक्ता दाहालले बताए ।

उनीविरुद्ध १ करोड ५५ लाख ७९ हजार ६९५ रुपैयाँ बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ग, दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिम जरिमाना र कैद सजाय मागदाबी गरिएकाे छ ।

साथै स्राेत नखुलेकाे सम्पत्तिबाट किनिएकाे र बढेकाे हालकाे सम्पत्ति जफत गर्न पनि माग गरिएकाे छ ।