अब तेम्बाथानका जनता बिरामी हुँदा हेलिकाेप्टर चार्टर गर्नुपर्दैन

अब तेम्बाथानका जनता बिरामी हुँदा हेलिकाेप्टर चार्टर गर्नुपर्दैन


सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ तेम्बाथान गाउँ सडक सञ्जालसँग जोडिएको छ। सदरमुकाम चौताराबाट ६० किलोमिटर दुरीमा रहेको तेम्बाथान गाउँ यसअघि सडक सञ्जालसँग जोडिएको थिएन ।

सडक नभएकाले विकट हिमाली भेग तेम्बाथान, दिपु, तेगावासीले सुत्केरी र बिरामीलाई उपचारका लागि ऋण काढेरै भए पनि महँगो शुल्क तिरेर हेलिकोप्टर चार्टर गरेर राजधानीका अस्पताल पुर्‍याउँदै आइरहेका थिए।

जुगल-३ मा निर्माणाधीन ३६ मेगावाट लक्ष्य बोकेको ब्रह्मायाणी जलविद्युत् आयोजनाले ७ करोड रुपैयाँ खर्चेर ८ किलोमिटर मान्जेखोला-नेशमदोभान-तेम्बाथानदिपु सडक निर्माण गरेको वडाध्यक्ष लक्ष्मण दोङले जानकारी दिए ।

उक्त गाउँभन्दा ३०० मिटर दुरीमा आयोजनाको विद्युत् गृह, सुरुङलगायत संरचना बन्दै छन् । गाउँमै एम्बुलेन्स र सवारीसाधन आइपुग्ने भएपछि तेम्बाथानवासी खुसी भएका छन् ।

यसअघि जलविरे, कात्तिके-तेम्बाथान १६ किलोमिटर यर्मालिङ र नेशमखोला छेउसम्म सडक पुगेको थियो । त्यसयता लक्याप, निमाडोमा, नेशमखोला जस्ता डरलाग्दा भिरको चट्टानी अवरोधका कारण ‘ब्लास्टिङ’ गर्दै अघि बढ्नुपर्ने भएकाले यर्मालिङ र नेशम खोलापारि सडक छिचोल्न सकिएको थिएन ।

स्थानीय सरकार, प्रशासन, सुरक्षाकर्मी सबैको समन्वयमा भिरको तल्लो भाग ‘ब्लास्ट’ गर्दै फुटाएर तेम्बाथानसम्म सडक पुर्‍याउन डेढ वर्ष लागेको ब्रह्मायाणी जलविद्युत् आयोजनाका अध्यक्ष भरतप्रसाद पराजुलीले जानकारी दिए ।

तेम्बाथान, दिपु, तेगा गाउँपुग्ने यो नै पहिलो र नयाँ सडक ट्र्याक हो। उक्त ट्र्याकलाई मर्मत सम्भार, कटिङ, ग्राभेलिङ, ३ वटा पुल बनाई स्तरोन्नति गर्दै अघि बढेको उनले बताए ।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो सडक निर्माण भएपछि स्थानीयवासीले २ दिनभर ज्यान हत्केलामा राखेर भिर र खोलाको बाटो हिँडनुपर्ने बाध्यता हटेको बताए ।