माथिल्लो सान्जेनले थाल्याे उत्पादन, राष्ट्रिय प्रसारणमा थपियाे १४.८ मेगावाट बिजुली

माथिल्लो सान्जेनले थाल्याे उत्पादन, राष्ट्रिय प्रसारणमा थपियाे १४.८ मेगावाट बिजुली


काठमाडाैँ ।

सान्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बू जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु भएको छ ।

माथिल्लो सान्जेनको नामले निर्माण भएको १४.८ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाबाट यही साउन २० गतेदेखि उत्पादन हुन थालेको र उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा पठाउने काम सम्पन्न गरिएको हो ।

सान्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार ढुंगेलका अनुसार सन् २०१३ देखि निर्माण सुरु भएको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाले उत्पादन दिन थालेको र उत्पादित विद्युत् चिलिमे जलविद्युत्को राष्ट्रिय प्रसारण लाइनमार्फत केन्द्रीय भण्डारणमा पठाइ सकिएको छ ।

विद्युत् उत्पादनका लागि समुद्र सतहबाट २ हजार ३५० मिटरको उचाइ तिलुचे बगरमा बाध बाँधी १ हजार ३०० मिटर भूमिगत सुरुङ एवं १५६ मिटर पेनस्टक पाइपको सहायताले प्रतिसेकेन्ड ११.६ घनमिटर पानी सिम्बू गाउँको पुछारमा निर्मित विद्युत् गृहमा पुर्‍याएको छ ।

३ वटा फ्रान्सिस टर्बाइनमार्फत् वार्षिक रूपमा ८ करोड ८५ लाख युनिट विद्युत् उत्पादन हुने र आयोजनाबाट  वार्षिक ४० करोड आय हुने प्रबन्ध निर्देशक ढुंगेलले बताए ।

विद्युत् गृह रहेको स्थान समुद्र सतहबाट २ हजार १८० मिटरको उचाइमा छ । यो आयोजना सम्पन्न भएसँगै अब रसुवाको जल सम्पदाले १०१.८ मेगावाट विद्युत् उत्पादन गराएको छ ।

यसअघि २०६० सालमा २२ मेगावाट क्षमताको चिलिमे, २०७१ सालमा ५ मेगावाट क्षमताको मैलुङ्खोला र २०७६ सालमा ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् केन्द्रले उत्पादन दिएको जनाइएको छ ।