१ करोड २९ लाखमा निर्माणाधीन सित्खा सिँचाइ आयोजना अलपत्र

१ करोड २९ लाखमा निर्माणाधीन सित्खा सिँचाइ आयोजना अलपत्र


रामेछाप ।

सित्खा फाँटमा निर्माणाधीन सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजनाको काम अलपत्र परेको छ ।

बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन रामेछापमार्फत सिँचाइ पुर्‍याउने उद्देश्यले आयोजना कार्यान्वयनमा ल्याएको थियो ।

विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी उदयपुरको राम्चे सिद्धगढी निर्माण सेवासँग विसं २०७५ असार २९ मा भएको सम्झौता भएको थियो । निर्माण व्यवसायीले सिँचाइ आयोजनाका लागि १ करोड २९ लाख २ हजार ४४८ मा सम्झौता गरेकामा ८३ लाख १७ हजार ४३३ भुक्तानी भइसकेको छ । हालसम्म ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित सित्खामा सुनकोसी नदी नजिकै भए पनि लामो समयदेखि फाँंट सुक्खा छ । सुनकोसी–तामाकोसी नदी आसपासका स्थानीय निर्माणाधीन आयोजना अलपत्र बनेपछि चिन्तित छन् । बाह्रै महिना अन्न फलाउने योजना बनाएका स्थानीयले सिँचाइ अभावका कारण धान, मकै लगाउन पाएका छैनन् ।

आयोजना निर्माणस्थल नजिक पानी सङ्कलनका लागि बनाइएका कृत्रिम पोखरी पनि पानी नभएर सुेकेका छन् । नदीबाट पोखरीसम्म पुर्‍याइएका पाइप लाइन पनि बिग्रिएका र अलपत्र अवस्थामा छन् ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन रामेछापका अनुसार सिँचाइ आयोजनाको ठेक्का लिएको निर्माण कम्पनीले काम बीचमै छाडेपछि अलपत्र बनेको छ ।

सम्झौताबमोजिम बाँकी काम गर्नका लागि बारम्बार पत्राचार गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा नआएकाले सम्झौता रद्ध गरी विसं २०७७ कात्तिक २६ मा सार्वजनिक खरिद एकाइको कालोसूचीमा निर्माण कम्पनीलाई राखिएको कार्यालयका इन्जिनियर दिवाकर मण्डलले जानकारी दिए ।