६ वर्षमा म्याग्दीका ६ हजार घरमा पुग्यो खानेपानी

६ वर्षमा म्याग्दीका ६ हजार घरमा पुग्यो खानेपानी


म्याग्दी ।

म्याग्दीका ६ हजार २२५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो ।

जिल्लामा कार्यालय स्थापना भएको ६ वर्षको अवधिमा सञ्चालित खानेपानी आयोजनाबाट ३१ हजार व्यक्ति लाभान्वित बनेका खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए। आर्थिक वर्ष २०७९÷८० मा मात्रै ३२ योजना सञ्चालन गरेकामा ५ वटा निर्माण सम्पन्न भएका छन् ।

रानीपौवा, धारापानी, ढोलठान, डम्मरा र भगवतीमा सम्पन्न भएका खानेपानी आयोजनाबाट १ हजार ८८ घरधुरीका ६ हजार जना लाभान्वित बनेको कार्यालयका इन्जिनियर राजेश उलकले जानकारी दिए ।

१ वर्षमा ११४.६० किलोमिटर पाइपलाइन जडान गरिएको छ । १६ पानी ट्यांकी निर्माण भएका छन् भने १ हजार ५२ घरधुरीमा खानेपानीको धारा निर्माण भएको छ । विपिटी, सिसी, डिसी र क्रसिङलगायतका ५४ वटा पूर्वाधार बनेका छन् ।

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको एक घर एक धारा खानेपानी अभियानले म्याग्दीमा तिब्रता पाएको छ । गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयअन्तर्गत म्याग्दीमा स्थापना भएको यस कार्यालयले जिल्लामा खानेपानीको पहुँच विस्तारको लागि विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ । गत वर्ष प्रदेश सरकारमार्फत २४ खानेपानी आयोजना सञ्चालन गरेको यस कार्यालयले संघतर्फ जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना अन्तर्गत आठ खानेपानी आयोजना सञ्चालन गरेको थियो ।

तथ्यांक अनुसार, हालसम्म ८८ दशमलव ५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच पुगेको म्याग्दीमा अझै पनि १२ प्रतिशत जनसङ्ख्या खानेपानीको जोहो गर्न ३० मिनेटको समय खर्चनुपर्ने बाध्यतामा छन् ।

गत आवमा सम्पन्न भएको रघुगंगा गाउँपालिका–३ को रानीपौवा खानेपानी आयोजनाबाट १२४ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । आव २०७३/७४ बाट सुरु भएको यस आयोजनालाई क्रमागत योजनाको रुपमा अघि बढाएको कार्यालयले कुल तीन ट्यांकी, ७०० मिटर मुख्य र १७.९ किलोटिमर वितरण पाइपलाइन निर्माण गरेर पूर्णताः दिएको हो ।

रघुगंगा गाउँपालिका–२ भगवतीमा आव २०७५/७६ देखि सुरु भएको चिमखोला मुहान, दग्नाम पिप्ले भगवती खानेपानी आयोजनाको समेत निर्माण सम्पन्न गरिएको छ । चार वटा ट्यांकी निर्माण भएको यस आयोजनाबाट ४३२ घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ ।

धौलागिरि गाउँपालिका–७ धारापानीमा पनि क्रमागत योजनाको रुपमा सञ्चालित खानेपानी आयोजना सम्पन्न भएर ३५३ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । ८ हजार ५ सय मिटर मुख्य र २० किलोमिटर शाखा पाइपलाइन निर्माण भएको यस आयोजनामा २ वटा ट्यांकी र २ वटा विपिटी निर्माण भएको छ ।

खानेपानीको चरम अभाव रहेको बेनी नगरपालिका–५ ढोलठानमा ढोलनाथ पुलाडाँडा खानेपानी आयोजना सम्पन्न भएर ८६ घरधुरीमा खानेपानीको सुविधा पुगेको छ ।

यस आयोजनामा २ वटा ट्यांकी, १ हजार ४ सय मिटर मुख्य र ५ हजार ५६० मिटर वितरण पाइपलाइन निर्माण गरिएको छ । ९१ घरधुरीमा खानेपानी वितरण हुँदै आएको बेनी नगरपालिका–६ को डम्मरा खानेपानी आयोजनाको ट्यांकी मर्मत गरिएको छ ।