करोडौं बजेट आउँदा पनि बनेन भलुवा सिमसार, ४० प्रितिशत पनि काम भएन

करोडौं बजेट आउँदा पनि बनेन भलुवा सिमसार, ४० प्रितिशत पनि काम भएन


मोरङ ।

कानेपोखरी गाउँपालिका–७ स्थित शुक्रबारेमा रहेको भलुवा सिमसारको निर्माणकार्य अलपत्र परेको छ ।

सिमसारलाई पूर्वी क्षेत्रको नमूना पर्यटकीय गन्तव्यस्थल बनाउने भन्दै २०७८ मङ्सिर ७ मा तत्कालीन गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले शिलन्यास गरेका थिए ।

उक्त सिमसारको विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ५ करोड विनियोजन गरिएको थियो ।

केही काम सुरु गरिए पनि सिमसारमा हाल निर्माणको काम ठप्प छ । सिमसार निर्माणका लागि पूर्वमन्त्री भानुभक्त ढकालले उक्त रकम उपलब्ध गराएका थिए । मन्त्रालयबाट ७० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत व्यवहोर्ने गरी सो रकम विनियोजन गरिएको थियो ।

सिमसारमा २ वर्षभित्र काम सम्पन्न गर्ने गरी ३ करोड ६५ लाख ९८ हजार आठ सय ७० मा स्काई सएस मुटुयल जेभीले ठेक्का लिएकामा हालसम्म ४० प्रितिशत पनि निर्माण सम्पन्न भएको छैन । सिमसारका लागि पहिलो र दोस्रो गरी २ किस्तामा ५७ लाख ९० हजार दुई सय ६० निकासा भएको गाउँपालिकाले जनाएको छ ।

पालिकाकी अध्यक्ष राजमती इङनामले वन क्षेत्रभित्र पर्ने भएकाले र केन्द्रबाट बजेट नआएका कारण काम रोकिएको बताइन् । वनले कार्ययोजना बनाएपछि काम फेरि छिट्टै सुरु हुने उनको भनाइ थियो । केन्द्रीय सरकारबाट बजेट आउने भएका कारण गाउँपालिकाले यसवर्ष भलुवा सिमसारका लागि बजेट नछुटाएको अध्यक्ष इङ्नामले बताइन् ।

करिब दुई वर्ष वितिसक्दा पनि भलुवा सिमसारको काम आधा पनि नभएको वडानं ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले बताउनुभयो । ठेकेदार कम्पनीले दुई वर्षभित्र काम सम्पन्न हुने गरी काम सुरु गरेको उहाँको भनाइ थियो ।

ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेको करिब १४ हेक्टर जमिनमा सिमसार फैलिएको छ । पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चोकदेखि करिब तीन किलोमिटर दक्षिणमा रहेको सीम तथा जलाधार क्षेत्रमा सिमसार रहेको छ । वन्यजन्तुको लागि सानो चिडियाखाना, टि हाउस, वनभोज स्थल, कटेज, स्वागत द्वार, कल्भर्ट, शौचालय, विश्रामस्थल, पाले बस्ने ठाउँ, पोखरी विस्तार, पोखरीको बीचमा पुल निर्माण, सभाकक्षसहितको पाहुना बस्ने घरजस्ता संरचना निर्माण गर्ने भनिएको थियो ।

सिमसार तथा जलाधार क्षेत्रबाट निस्किएको पानीले कानेपोखरीको वडा नं ४, ६ र ७ सम्म करिब एक हजार बिघाभन्दा बढी जमिनमा सिँचाइ हुँदै आएको छ ।