मिथिला सौर्य विद्युत् आयोजनामा तालाबन्दी

मिथिला सौर्य विद्युत् आयोजनामा तालाबन्दी


धनुषा ।

मिथिला नगरपालिका –८, ढल्केबरमा रहेको मिथिला सौर्य विद्युत् आयोजनामा तालाबन्दी गरिएको छ ।

आयोजनालाई जग्गा भाडा दिएका जग्गाधनीले भुक्तानी माग गर्दै तालाबन्दी गरेका हुन् ।

आयोजनाले प्रतिकठ्ठा ६ हजार ५ रुपियाँका दरले ८२ जना किसानसँग ५६ बिघा जमिन भाडामा लिएको छ । जग्गाधनीहरुले आयोजनामा तालाबन्दी गरेपछि विद्युत् उत्पादनसमेत बन्द भएको छ ।

उक्त आयोजनाले सौर्य उर्जाबाट १० मेगावाट विद्युत् उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई विक्री गर्दैआएको छ ।

आयोजनामा ताला लगाउन पुगेका सम्बन्धित जग्गाधनीले १५ महिनादेखि जग्गा भाडा बाँकी रहेको बताए । सञ्चालक नवीनकुमार सिंह १ वर्षदेखि सम्पर्कमा नआएको र कार्यालयमा आएर पटक पटक माग गर्दा पनि पैसा नदिएपछि बाध्य भएर आयोजनामा तालाबन्दी गरिएको उनीहरुले जानकारी दिए ।

कार्यालयमा गयो सञ्चालकलाई सम्पर्क गर्नुस् भन्नेगरेको र सञ्चालकलाई फोन गर्दा फोन नउठेको उनीहरुको गुनासो छ ।