आँखा पाक्ने रोगका कारण वालिङका विद्यालय ४ दिनका लागि बन्द

आँखा पाक्ने रोगका कारण वालिङका विद्यालय ४ दिनका लागि बन्द


स्याङ्जा ।

स्याङ्जामा आँखा पाक्ने रोग फैलिएपछि वालिङ नगरपालिकाले विद्यालय बन्द गरेको छ ।

आँखा पाक्ने रोगबाट बढी मात्रामा बालबालिका संक्रमित भएपछि ४ दिनका लागि विद्यालय बन्द गरिएको हो ।

वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले विद्यार्थीहरूमा आँखा पाक्ने रोग फैलिएपछि विद्यालय बन्द गरिएको जानकारी दिए । वालिङमा रहेका आँखा उपचार केन्द्रमा आँखाको उपचार गराउन आउने बिरामीमध्ये ७० प्रतिशतमा संक्रमण भएको उल्लेख गरे ।

आगामी सोमबारसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिए । संक्रमण थप फैलिन नदिन विद्यालय बन्द गरिएको शर्माले बताए ।

जिल्ला आँखा उपचार केन्द्र वालिङका प्रमुख तेज गुरुङले आँखा पाक्ने समस्या लिएर आउनेमध्ये धेरै बालबालिका रहेको बताए । गुरुङका अनुसार पछिल्लो २-३ दिनमा मात्रै आँखाका बिरामीको संख्या १०० को हाराहारी छ । जसमा प्रायः सबै विद्यार्थी छन् ।

आँखा पाक्ने रोग सरुवा रोग भएकाले विद्यालय बन्द गरेर भए पनि नियन्त्रणको प्रयास गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विद्यार्थीहरूलाई घरमै बसेर रोग नियन्त्रणमा सहयोग पुर्‍याउन समेत आग्रह गरेको छ ।