नक्कली सर्टिफिकेटकाे आराेपमा सा‍ंसद शर्मासहित ३ डाक्टर पक्राउ

नक्कली सर्टिफिकेटकाे आराेपमा सा‍ंसद शर्मासहित ३ डाक्टर पक्राउ

भाेलि अदालत लाने तयारी


काठमाडौँ ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद् डा. सुनिल शर्मासहित थप २ जना डाक्टर पनि पक्राउ परेक छन् । पक्राउ पर्नेमा चिकित्सक अमृत चौधरी र रन्जितकुमार यादव रहेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक अमृत चौधरीलाई सीआईबीले बिहीबारै पक्राउ गरेको हो । यस्तै, अर्का चिकित्सक रन्जितकुमार यादव पनि पक्राउ परेका छन् । यादव पिपरा–८ महोत्तरीका हुन् । उनको पनि १२ कक्षाको सर्टिफिकेट नक्क्लदी र भारतीय भएको खुलेको प्रहरी स्रोतले जनाएको छ ।

यसै प्रकरणमा बिहीबार दिउँसो नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सुनिल शर्मालाई पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

कांग्रेसका सांसद शर्मालाई सीआईबीले दिउँसो उनकै निवासबाट पक्राउ गरेको थियो । शर्माको पक्राउ पुर्जीमा लिखत सम्बन्धी कसूरमा अनुसन्धानको सिलसिलामा पक्राउ गर्न परेको विषय उल्लेख गरिएको छ । लिखत भन्नाले के हो ? भन्ने कुरा भने खुलाइएको छैन । तर, विभिन्न स्रोतका अनुसार उनी आईएस्सी उतीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएको आरोपमा पक्राउ परेका हुन् ।

सीआईबीले बिहीबार नै संसद् सचिवालयलाई सांसद शर्मा पक्राउसम्बन्धी जानकारी गराएको छ । सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्था रहेको छ ।

शर्माको सांसद पद धरापमा

शर्मामाथि लागेको अभियोग प्रमाणित भएमा सांसद शर्माको सांसद पद जाने देखिन्छ । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ अनुसार संविधानको धारा ३ अनुसार कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएपछि सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने प्रावधान रहेको छ ।

सोही नियमको उपनियम ३ मा कानुन बमोजिम ३ वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई पुर्पक्षको लागि थुनामा रहेमा वा फरार रहेमा निलम्बन गरिने व्यवस्था रहेको छ । यो व्यवस्थाअनुसार सांसद शर्मा निलम्बन हुन सक्नेछन् । गत प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट मोरङ–३ बाट निर्वाचित भएका थिए ।

सीआईबीले नक्कली चिकित्सकविरुद्ध २०७२ सालदेखि नै अप्रेशन चलाउँदै आएको छ । उनीहरूलाई शुक्रबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने तयारी रहेकाे स्राेतले जानकारी दिएकाे छ ।