खानेपानी आयोजना : ४ पटक म्याद थप्दा ३४ करोड सकियो, फुस्किएको पाइप जोड्दैमा ठिक्क

खानेपानी आयोजना : ४ पटक म्याद थप्दा ३४ करोड सकियो, फुस्किएको पाइप जोड्दैमा ठिक्क


बागलुङ ।

३४ करोड खर्चेर तयार पारिएको बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजनाको पाइप लाइन ६ पटकसम्म फुस्कियो ।

क्रंकिटको पोलमा राखेर पाइप लाइन विस्तार गरे पनि खानेपानीको चाप धान्न नसकेर क्रंकिटको पोलसहित पाइप फुस्किँदा आयोजनाको डिजाइनमै त्रुटि रहेको पाइएको छ ।

५ वर्षअघिदेखि सुरु भएको आयोजनाको बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ भने परीक्षणमै समस्या देखिएको हो । अन्तिम चरणमा लिफ्ट आयोजना पुग्दा बागलुङ बजारवासीले सहज ढंगले खानेपानी पाइने भयो भन्ने आशामा थिए ।

तर भौगोलिक अवस्थाका कारण परीक्षणका लागि काठेखोलाको पानी लिफ्टमार्फत तान्दा विभिन्न छ स्थानमा पाइप फुस्किएको छ । परीक्षण नै असफल भएपछि अहिले खानेपानीको पाइप लाइनको विषयमा विज्ञ समूहले अध्ययन गरिरहेको पाइएको छ ।

पटक–पटक म्याद थपेर सम्पन्नताको चरणमा पुगेको खानेपानी आयोजनाको पाइप फुस्कने समस्याले आयोजनाको पाइप लाइनको डिजाइनमै समस्या देखिएको छ । खानेपानी आयोजनाको पाइप लाइनको डिजाइनमा अहिले राखिएको पाइप उपयुक्त नभएको भन्दै आफूले पटक–पटक आवाज उठाउँदासमेत सुनुवाइ नभएको स्थानीय बताउछन् ।

आयोजनामा अहिले डिआइ पाइप प्रयोग गरिएको छ जुन पानी तान्ने क्रममा पटक–पटक वासरबाट क्रंकिटको पोलसहित फुस्केको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ । बागलुङ नगरपालिका–३ स्थित काठेखोलाको पानी कैलाम पोखरीबाट २५० मिटरमाथि रातामाटामा पुर्याउने गरी आयोजना अन्तिम चरणमा पुगे पनि पाइप लाइनमा त्रुटि देखिँदा आयोजना थप अन्योल बनेको छ ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले निरन्तर पहिरो खसिरहने भूगोलमा डिआइ पाइप उपयुक्त नहुने उल्लेख गर्दै पाइप खरिद गर्नुभन्दा पहिला खानेपानी तथा ढल विभागमै पत्र पठाएको बताए । हाल खानेपानी ल्याइरहेको मुहानको खानेपानीमा समेत उक्त पाइप पटक–पटक फुस्केर दुःख दिइराखेको अनुभव रहेको र लिफ्ट आयोजनाको उक्त पाइप परिवर्तन नभए मर्मतसम्भार गर्नसमेत पछि समस्या पर्ने उनी बताउछन् ।

विसं २०७५ असार ३१ गते कन्काइ जयमाता जेभीले २०७७ सालमा निर्माण सक्ने गरी ३० करोड २६ लाख ५१ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले ४ पटक म्याद थप्दासमेत आयोजनास्थलको भौगोलिक कठिनाइ र कोरोना त्रासका कारण निर्माणमा ढिलाइ भएकोे दाबी गर्दै आएको छ ।

लिफ्ट आयोजनाको लागत अहिले बढेर ३४ करोड ५६ लाख पुगेको निर्माण व्यवसायीतर्फका इन्जिनियर विक्रम अधिकारीले बताए। अधिकारीले विभागले दिएको डिजाइनअनुसार काम सम्पन्न गर्नेतर्फ पुग्दासमेत पाइप लाइन पटक–पटक फुस्किँदा पानी माथि पुर्याउन नसकिएको बताए।

संघीय खानेपानी तथा ढल व्यवस्था आयोजना कार्यालय म्याग्दीका सूचना अधिकारी इन्जिनियर नवीन सुवेदीले लिफ्ट खानेपानी आयोजनाको पाइप लाइनमा देखिएको समस्याका विषयमा अध्ययन भइरहेको बताए । उनले विभागले विज्ञ समूहलाई खानेपानीको पाइप लाइन र भौगोलिक अवस्थाको अध्ययन गर्न २  हप्ताअघि पठाएको बताए।

विभागले खटाएको विज्ञ समूहले तयार पारेको प्रतिवेदनअनुसार मुख्य समस्या थाहा हुने उनले बताए । तत्कालै आयोजनाको काम अगाडि नबढ्दा उपभोक्तालाई पानी पुर्याउन वैकल्पिक व्यवस्था खानेपानी तथा सरसफाइ उपभोक्ताले गरेको छ । उक्त आयोजनाको ८८ प्रतिशत वित्तीय र ९० प्रतिशत भौतिक प्रगति रहेको छ ।