चाैरमा बसेर जहाज कुर्नुपर्ने ४५ वर्षदेखिकाे बाध्यता हट्दै

चाैरमा बसेर जहाज कुर्नुपर्ने ४५ वर्षदेखिकाे बाध्यता हट्दै

भाेजपुरमा टर्मिनल भवन शिलान्यास


भोजपुर ।

भाेजपुर विमानस्थलमा टर्मिनल भवन बन्ने भएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भोजपुरमा रहेकाे एक मात्र टक्सार विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल तथा कन्ट्रोल टावर भवनको शिलान्यास गरेका हुन् ।

भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको विमानस्थलमा बन्न लागेको भवनको मन्त्री किराँतीले शुक्रबार मुन्दुम तथा सनातन विधिअनुसार शिलान्यास गरे ।

सो क्रममा उनले सुविधा सम्पन्न टर्मिनल भवन निर्माणसँगै आगामी दिनमा ठुला जहाज उडानका लागि पहल गर्दै लानुपर्ने बताए । एक जनाले मात्र सुविधा पाए पनि पहाडी विमानस्थलहरू सुविधा सम्पन्न हुनुपर्ने मन्त्री किरातीको भनाइ छ । नेपाल वायुसेवा निगमले अन्य क्षेत्रमा देखिएका विकृति विसंगति अन्त्यका लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्न जरुरी रहेको उनकाे भनाइ छ ।

आरवी उर्वन बिल्डर्स एन्ड सप्लायर्स प्रालिले निर्माण गर्न लागेको भवनको लागत ५ करोड ४५ लाख रुपैयाँ रहेको नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । आगामी डेढ वर्षभित्रमा निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । १ रोपनी ५ आना क्षेत्रफलमा निर्माण हुने भवन १०० जनाले एकै पटक उपयोग गर्न सक्नेछन् ।

पहाडी क्षेत्रहरूमा सञ्चालन भई विमानस्थलबाट नाफा नभए पनि सेवा मात्र दिने कार्य भइरहेको बताउँदै महानिर्देशक अधिकारीले ५५ विमानस्थलमध्ये हाल ३३ वटा मात्र सञ्चालनमा आएको बताए ।

भोजपुर विमानस्थलको कुल क्षेत्रफल १३२ रोपनी छ भने ५४५ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको धावनमार्ग छ । भोजपुरमा हाल नेपाल वायुसेवा निगमको जहाजले मात्र भोजपुर–काठमाडौँ उडान गर्दै आइरहेको छ । करिब ४५ वर्षदेखि सञ्चालनमा आएको विमानस्थलको धावनमार्ग २०७४ सालमा कालोपत्र भएको थियो ।

शिलान्यासका क्रममा भोजपुरबाट निर्वाचित कोसी प्रदेशसभा सदस्य विनोद बान्तवा र भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले भवन निर्माणसँगै भोजपुर जस्तो दुर्गम जिल्लाका नागरिकले अझै प्रभावकारी सेवा पाउने बताए ।