प्याराग्लाइडिङ गर्न अब पाेखरा हाेइन सिन्धुली गए हुन्छ, कति लाग्छ शुल्क ?

प्याराग्लाइडिङ गर्न अब पाेखरा हाेइन सिन्धुली गए हुन्छ, कति लाग्छ शुल्क ?


DCIM100GOPROG0019629.JPG

सिन्धुली ।

सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो । वैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो ।

कमलामाई नगगरपालिका–६ लक्ष्मण चोक नजिकै रहेको प्रयास होटल प्रालिले २ करोड रुपैयाँ लगानीमा व्यावसायिक प्याराग्लाडिङ सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक नेत्रजंग थापाले बताए ।

कम्पनीले एकै समयमा ५ वटासम्म प्याराग्लाइडिङ गर्ने गरी नागरिक उड्डयन प्राधिकरणसँग इजाजत पाएको छ । पाइलट दिलकुमार सुनुवार, विक्रम सुनुवार र शंकर थापा मगरले उडान भर्नेछन् ।

प्याराग्लाइडिङ गर्न प्रतिव्यक्ति ६ हजार ५०० शुल्क तोकिएको छ । जिल्लाका स्थानीयबासीलाई भने १ महिनासम्मका लागि १ हजार रुपैयाँ छुटकाे व्यवस्था छ ।

प्याराग्लाइडिङको अवधिभरको फोटो तथा भिडियो, सिन्धुलीमाढी बजार क्षेत्रदेखि प्याराग्लाइडिङ उड्ने ठाउँसम्म र ल्यान्डिङ स्टेसनदेखि प्रयास होटलसम्म ल्याउने र पुर्‍याउने सुविधासमेत यसै शुल्कअन्तर्गत रहेको कम्पनीका सञ्चालक थापाको भनाइ छ ।

प्याराग्लाइडिङ अवतरणका लागि जर्सेदमार, रातमाटा र खुलामञ्चलाई ल्यान्डिङ स्टेसन बनाइएको छ । प्याराग्लाइडिङको टेक अफ साइट समुद्री सतहबाट ९७० मिटर उचाइमा छ ।

प्याराग्लाइडिङ टेक अफ साइटबाट करिब १ हजार मिटर माथिसम्म उड्नेछ । यस्तै प्याराग्लाइडिङको ल्यान्डिङ स्टेसन समुद्री सतहबाट ४०० मिटरको उचाइमा छ ।

यहाँ साहसिक खेलका रूपमा लिइने प्याराग्लाडिङको मज्जा लिन आउने पर्यटकले जिल्लाको प्राकृतिक सौन्दर्य, मनोरम वातावरण, होचा-अग्ला डाँडापाखा र थुम्काथुम्कीका लोभलाग्दा दृश्य देख्न सक्नेछन् । यसले सिन्धुलीको प्रचारप्रचार तथा समृद्ध जिल्ला बनाउन सहयोग पुग्ने पनि विश्वास लिइएको छ ।