साउने झरी : हवाई उडानमा समस्या, कुन-कुन एअरपाेर्ट खुलेनन् ?

साउने झरी : हवाई उडानमा समस्या, कुन-कुन एअरपाेर्ट खुलेनन् ?


काठमाडौँ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडान पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए ।

विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौँबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौँ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ ।

विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौँ–पोखरा रुटका ३ वटा र बुद्ध एयरकै काठमाडौँ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएकाे छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म देशभर वर्षा जारी रहनेछ ।