लमजुङमा ३५ किलाेमिटर सडकमा ३५ ठाउँमै पहिराे, मनाङसँगकाे सडक सम्पर्क विच्छेद

लमजुङमा ३५ किलाेमिटर सडकमा ३५ ठाउँमै पहिराे, मनाङसँगकाे सडक सम्पर्क विच्छेद


मनाङ ।

हिमालपारिकाे जिल्ला मनाङ । यहाँ सडक पनि छ । गाडी पनि गुड्छन् । तर बर्खा लाग्नासाथ न यहाँकाे सडकमा गाडी गुडाउन सकिन्छ, न त पैदल हिँड्दा नै ढुक्क हुन सकिन्छ । हिँड्दा हिँड्दै कुनबेला माथिबाट पहिराे आएर पुर्छ, थाहा हुन्न ।

अहिले यहाँकाे अवस्था यस्तै भएकाे छ । अहिले मनाङ सिंगाे जिल्ला नै यातायातबाट विच्छेद भएकाे छ । निरन्तरकाे वर्षापछि डुम्रे–बेँसीसहर–चामे सडककाे लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरेमा  ट्र्याक भासिएपछि याे सडक हुँदै हुने आवागमन ठप्प छ ।

यद्यपि मनाङमा भने अहिले वर्षा भएकाे छैन । लमजुङमा भएकाे निरन्तर वर्षापछि सडकमा पहिराे जाँदा मनाङ पनि प्रभावित भएकाे हाे ।

शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण याे सडकखण्डमा आवतजावत रोकिएको सडक आयोजना कार्यालयले जानकारी दिएकाे छ । यस सडक खण्डअन्तर्गत मनाङतर्फ भन्दा लमजुङतर्फ बढी पहिराे खसेको छ । लमजुङतर्फकाे ३५ किलोमिटर सडकमा ३५ वटा पहिराे खसेकाे छ ।

यस सडक खण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिराे खसेको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए । उनले भने, ‘केही स्थानमा पहिराे खसेर अवरुद्ध भएकाे छ भने खरखरेमा ट्र्याक नै भासिएको छ । यसले मनाङ आवतजावत ठप्प भएको छ ।’

सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको उनले बताउनुभयो । निरन्तर वर्षा भइरहेकाले पहिराे पन्छाउन समस्या भइरहेको भन्दै उनले सडक सञ्चालनका लागि प्रयास जारी रहेको जानकारी दिए ।

सडकमा खसेको ढुंगा, माटो फाल्दै गर्दा माथिबाट पहिरो खसिरहेको जनाउँदै अधिकारीले  जोखिम मोलेरै काम गरिरहेको बताए ।

मनाङकी प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले मनाङमा वर्षा नभए पनि लमजुङतर्फ निरन्तर वर्षा भइरहेकाले पहिराे खसेकाे बताइन् ।

उनले पहिराेका कारण सडक अवरुद्ध रहेकाले पुनः सञ्चालनका लागि पहल भइरहेको जानकारी दिइन् ।

डुम्रे–बेसीँसहर–चामे–खाङ्सार सडक १०५ किलोमिटर छ । यसमध्ये डुम्रे–बेँसीसहर–चामे सडकखण्डको ३० किलोमिटरमा प्रायः पहिराे खसिरहन्छ । खसेको पहिराे हटाउन आयोजना कार्यालयले विभिन्न स्थानमा एक्साभेटर तयारी अवस्थामा राखेको जनाएको छ । तर माथिबाट पहिराे झर्न नराेकिँदा सडक खुलाउन पनि समस्या भइरहेकाे छ ।