सडक विभागले बढायाे भौतिक प्रगति, सबैभन्दा बढी हुलाकी राजमार्गमा ९१ प्रतिशत

सडक विभागले बढायाे भौतिक प्रगति, सबैभन्दा बढी हुलाकी राजमार्गमा ९१ प्रतिशत


काठमाडौँ ।

सडक विभागले विगत वर्षभन्दा प्रगतिमा वृद्धि गरेकाे छ । आर्थिक वर्ष २०७८/७९ मा ५८ प्रतिशत प्रगति गरेकाे विभागले आव २०७९/८० मा ७० प्रतिशत प्रगति गरेकाे हाे ।

अघिल्लो वर्षको तुलनामा गत आवमा प्रगति दर वृद्धि भए पनि अपेक्षा गरेअनुसार नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति सोचेअनुरुप हुन नसकेको उनको भनाइ थियो । उनले भने, ‘विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरेको थियो । त्यस अनुसार काम हुन सकेनन् ।’

वैदेशिक सहायताका आयोजनामा आवश्यकता भन्दा बढी स्रोत राख्ने गरिएकाले अन्य आयोजनाको तुलनामा कम प्रगति हुने गरेको महानिर्देशक ढकालले बताए ।

‘सरकारले १ वर्षमा रकम विनियोजन गरेको आधारमा प्रगति मापन गरिन्छ’, उनले भने, ‘वैदेशिक सहायता र नेपाली गरी २ किसिमको स्रोत विनियोजन भएका हुन्छन् । सोही अनुसार प्रगति पनि फरक हुन्छ ।’

बुटवल–नारायणगढ सडकका लागि ७/८ अर्बभन्दा बढी खर्च गर्न नसकिने जानकारी गराइएको जनाउँदै महानिर्देशक ढकालले उक्त आयोजनाका लागि १० अर्ब बढी रकम विनियोजन भएको बताए ।

‘बुटवल–नारायणगढ वैदेशिक आयोजना भएकाले बढी रकम विनियोजन भयो । जसले गर्दा कम प्रगति देखियो’, उनले भने ।

राष्ट्रिय गौरवका सडक आयोजनामा अघिल्ला वर्षको तुलनामा गत वर्ष बढी प्रगति भएको ढकालले बताए । उनका अनुसार उत्तर दक्षिण करिडोरअन्तर्गत कोसी, कर्णाली र कालीगण्डकी राजमार्ग पर्छन् ।

कोसीमा ४२, कालीगण्डकीमा ४३ र कर्णालीमा २४ प्रतिशत भौतिक प्रगति भएको ढकालले जानकारी दिए । उनका अनुसार पुष्पलाल (मध्यपहाडी) मा ७२ र हुलाकी राजमार्गमा ९१ प्रतिशत प्रगति भएको थियो ।

झन्डै ३ आर्थिक वर्षमा कोभिडका कारण अपेक्षाकृत काम हुन नसकेको बताउँदै महानिर्देशक ढकालले अघिल्ला वर्षको तुलनामा गत आवमा सन्तोषजनक प्रगति भएको उल्लेख गरे ।

विभागले संघीय सडक र त्यसअन्तर्गतका पुलको निर्माण तथा मर्मत गर्दै आएको छ ।