चिरख्वा हाइड्रोकाे आइपिओ खुल्याे, कसले कति भर्न पाइन्छ ?

चिरख्वा हाइड्रोकाे आइपिओ खुल्याे, कसले कति भर्न पाइन्छ ?


काठमाडौँ ।

चिरख्वा हाइड्रोपावर लिमिटेडले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ बिक्री खुला गरेको छ ।

कम्पनीले जारी पुँजी ४० करोड रुपैयाँको ३० प्रतिशतले हुने १२ करोड बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएकामा १० प्रतिशतले हुने ४ लाख कित्ता सेयर  आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुला गरेको हो ।

कम्पनीको सेयरमा आयोजना निर्माण भइरहेको भोजपुर जिल्लाका स्थानीयले आवेदन दिन सक्नेछन् । यस्तै जारी पुँजीको २० प्रतिशतले हुने ८ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्नेछ ।

यस्तै कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ८ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला गरेको छ । उक्त सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुले आवेदन दिन सक्नछन् ।

कम्पनीको आइपिओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजागरीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले छिटोमा १० भदौ र उक्त अवधिमा माग अनुसार आवेदन नपरे २५ भदौसम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने १० भदौभित्र आवेदन दिनुपर्नेछ।

आइपिओ निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेको छ । उक्त आइपिओमा स्थानीय बासिन्दाले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले आइपिओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले भाेजपुरमा ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ र प्रतिमेगावाट अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।